हेटौँडा । यसअघि कक्षा ३ सम्म स्थानीय पाठ्यपुस्तक लागू गरेको हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि भने कक्षा ८ सम्मै स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ। उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि नगरभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम अनुसारको ‘हाम्रो हेटौँडा’ लागू गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाको ४३ औँ कार्यपालिका बैठकले चालु शैक्षिक सत्रदेखि नै नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा ८ सम्म स्थानीय पाठ्यक्रममा आधारित पुस्तक ‘हाम्रो हेटौँडा’ लागू गर्ने निर्णय गरेको हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवं १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

प्रवक्ता न्यौपानेले विद्यालयहरुलाई स्थानीय पाठ्पुस्तक लागू गर्ने विषयमा जानकारी गराइसकिएको बताए। उनले विद्यालयहरुले स्थानीय पाठ्पुस्तक लागू गरे नगरेको अनुगमन गर्ने निर्णय भएको पनि जानकारी दिए। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै स्थानीय तहरुले पाठ्यक्रम तयार पारेर लागू गर्न पाउने व्यवस्था छ। सोही अनुसार मकवानपुरका १० मध्ये आठ पालिकाले यसअघि देखिनै स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याइसकेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४)मा मातृभाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने भएपछि मकवानपुरका पालिकाहरूले आफ्ना विद्यालयहरूमा स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याएका हुन् ।

यसरी स्थानीय पाठ्यपुस्तक प्रयोगमा ल्याउने पालिकाहरूमा हेटौँडा उपमहानगरपालिकासँगै बागमती, मकवानपुरगढी, भीमफेदी, इन्द्रसरोवर, थाहा नगरपालिका, मनहरी र राक्सिराङ गाउँपालिका रहेका छन् । जिल्लाका सबै पालिकाहरूले स्थानीय पाठ्यपुस्तकमा आफ्नो क्षेत्रको भौगोलिक अवस्था, बसोबास गर्ने जातजाति, उनीहरूको भाषा, धर्म, संस्कृति, चाडपर्व, आर्थिक, सामाजिक र राजनीतिक अवस्था, ऐतिहासिक महत्वलगायतका विषयवस्तु समेटेका छन् ।