हेटौंडा । माहामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणमा हेटौंडा उपमहानगरालिका उदासिन देखिएको छ । दिनहुँ सयौंको संख्यामा हेटौंडामा डेंगुका बिरामी थपिएका छन् ।

हेटौंडा अस्पतालदेखि नीजि क्लिनिक समेत अहिले डेंगुका बिरामीले भरिएका छन् । उपचारका लागि हेटौंडावासी भरतपुर र काठमाडौं समेत पुगेका छन् । हेटौंडा अस्पतालमा एउटै बेडमा दुई जना राखेर उपचार भईरहेको छ ।

डेंगु नियन्त्रणमा स्थानीय तह उदासिन देखिएको वडावासीहरुले आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिकाले माइकिङ र देखाउनै लागि केही स्थानमा स्प्रे गरेर जनताको आखाँमा छारो हाल्ने काम मात्रै गरेको उनीहरुको आरोप छ । आम जनताको स्वास्थ्य संग जोडिएको बिषयमा उपमहानगर गम्भीर नहुँदा हेटौंडा क्षेत्रमा डेंगुका बिरामीहरु बढेका छन् ।

संघ र प्रदेशको चुनावको मिति नजिकिए संगै जनप्रतिनिधिहरु जनताको काममा भन्दा दल र पार्टीको काममा व्यवस्त हुन थालेका छन् । आम जनता संग प्रत्यक्ष जोडिएको स्वास्थ्यको बिषयलाई स्थानीय तहले गम्भीर रुपले नलिदा हेटौंडामा डेंगुको प्रकोप बढेको हो ।

स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङक अनुसार साउनदेखि असोज १२ गते सम्म मकवानपुरमा दुई हजार ७६४ जनामा डेंगु संक्रमण पुष्टि भईसकेको छ । स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्षमण घिमिरेका अनुसार आज बुधवार मात्रै ७३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । तथ्याङक अनुसार सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमित छन भने इन्द्र सरोवर गाउँपालिकामा डेंगु संक्रमित शुन्य रहेको छ । डेंगु संक्रमणका कारण हेटौंडामा एकजनाको मृत्यु पनि भईसकेको छ ।

तथ्याङक अनुसार हेटौंडा उपमहानगर क्षेत्रमा मात्रै २ हजार ४५९ जना डेंगुबाट संक्रमित रहेका छन । जसमध्य सबैभन्दा धेरै हेटौंडा ४ र ५ मा डेंगुबाट संक्रमित रहेका छन् ।