भारत । उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा भागदौड मच्चिदा करिब सय जनाको मृत्यु र अन्य धेरै घाइते भएको एक वरिष्ठ सरकारी अधिकारीले बताएका छन् ।
एक लोकप्रिय प्रचारकको प्रवचनका लागि हाथरस सहर नजिकै ठुलो भिड जम्मा भएको थियो । तर मानिसहरू बाहिर निस्कँदै गर्दा धुलोको आँधीले आतङ्क फैलाएको थियो । धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को खसेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।
“हामीले अहिलेसम्म ९७ जनाको मृत्यु भएको पुष्टि गरेका छौँ । पीडितहरूका लागि राहत र चिकित्सा सहायता प्रदान गर्न ध्यान केन्द्रित गरिरहेका छौँ”, उत्तर प्रदेश राज्यको अलीगढ सहरका डिभिजनल कमिश्नर चैत्र वी.ले भने, “उपस्थित मानिसहरूले कार्यक्रम स्थलबाट बाहिर निस्कँदै गर्दा धुलोको आँधीले केही देख्न सकेनन् र भागदौड सुरु भयो । त्यसपछि दुःखद घटना भयो ।”
राज्यका मुख्य चिकित्सा अधिकारी उमेशकुमार त्रिपाठीका अनुसार मृतकमध्ये अधिकांश महिला थिए । धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको उनले बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले ‘दुःखद घटना’ मा मृत्यु भएकाहरूका परिवारलाई दुई हजार चारसय डलर र घाइतेहरूलाई छ सय डलर क्षतिपूर्तिको घोषणा गरे ।
सन् २०१६ मा हिन्दूहरूको नववर्षको उपलक्ष्यमा एउटा मन्दिरमा प्रतिबन्धित आतसबाजी प्रदर्शनका कारण भएको ठूलो विस्फोटपछि कम्तिमा एक सय १२ जनाको मृत्यु भएको थियो ।
सन् २००८ मा उत्तरी सहर जोधपुरमा एक पहाडी मन्दिरमा भागदौड मच्चिँदा दुईसय २४ तीर्थयात्रीको मृत्यु भएको थियो । चार सयभन्दा धेरै घाइते भएका थिए । एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्