
जेनेभा। सुडानमा सन् २०२३ देखि जारी सशस्त्र द्वन्द्वका कारण हालसम्म चार लाखभन्दा बढी नागरिकले देश छाडिसकेका संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जानकारी गराएको छ । उक्त सङ्ख्यालाई संस्थाले ‘विनाशकारी मोड’ को रूपमा उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) का अनुसार, यदि द्वन्द्व यथावत् रह्यो भने नागरिकहरूको पलायन अझै तीव्र हुने सम्भावना छ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थायित्वमा गम्भीर असर पार्न सक्छ ।
सुडानको नियमित सेना र अर्धसैनिक ‘तीव्र सहायता बल’ (आरएसएफ) बिच सन् २०२३ को वैशाखदेखि सत्ताका लागि हिंसात्मक संघर्ष जारी छ । यो युद्धले हजारौं नागरिकको ज्यान लिएको छ र यो अहिले विश्वकै सबैभन्दा ठुलो भोकमरी तथा विस्थापन संकटको रूपमा विकसित भएको छ ।
संस्थाले हालसम्मको तथ्याङ्क सार्वजनिक गर्दै सोमबारसम्म चालिस लाख तीन हजार ३८५ जनाले सुडान छाडिसकेको जानकारी दिएको छ । तीमध्ये १५ लाखले इजिप्ट, ११ लाखभन्दा बढीले दक्षिण सुडान (जसमा आठ लाखजति पहिल्यै सुडानमा शरणार्थी थिए) र आठ लाख ५० हजारले चाड पुगेका छन् ।
पूर्वी चाडमा मानवीय अवस्था झनै गम्भीर बन्दै गएको युएनएचसीआरले जनाएको छ । चाडले द्वन्द्वपूर्व नै चार लाखभन्दा बढी सुडानी शरणार्थीको संरक्षण गरिरहेकोमा हाल यो सङ्ख्या १२ लाख नाघिसकेको छ, जसले चाड सरकारको क्षमता नै संकटमा पारेको बताइएको छ । एजेन्सीकाे सहयाेगमा ।
प्रतिक्रिया दिनुहोस्