युक्रेनले राजधानी किएभ नजिकै अर्को सामूहिक चिहान फेला परेको बताएको छ । रुसी सेना फर्किएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँमा गैरसैनिकको सामूहिक चिहान भेटिएको युक्रेनले बताएको बीबीसीले जनाएको छ ।
किएभ नजिकैको विभिन्न क्षेत्रमा पनि यसअघि पनि सामूहिक चिहान भेटिएको थियो । युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म त्यो क्षेत्र कब्जा गरेको थियो । सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ । तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ ।
यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व प्रमुख आर्थिक सल्लाहकारले पश्चिमा देशहरूले रुसी ऊर्जामाथि वास्तविक प्रतिबन्ध लगाएमा युक्रेनमा चलिरहेको युद्ध रोकिन सक्ने बताए । सन् २००५ सम्म पुटिनसँग काम गरेका आन्द्रेई इलारीनोभले बीबीसीसँग कुरा गर्दै ऊर्जाको प्रयोग घटाउने अरू देशका चेतावनीलाई रुसले गम्भीरतापूर्वक नलिएको बताए ।
अघिल्लो वर्ष इन्धन र ग्यासबाट प्राप्त हुने आम्दानीले रुसी सरकारको बजेटको एक तिहाइ भन्दा बढी ओगटेको थियो । युरोपेली सङ्घ एक्लैले रुसलाई ऊर्जाका लागि प्रतिदिन एक अर्ब युरो तिर्ने बीबीसीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्