हेटौँडा । बागमती प्रदेशका चाढे चारहजार युवालाई सीपमूलक तालिम दिइएको छ । बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत रहेको प्रदेश युवा परिषद्ले चालु आर्थिक वर्षमा १३ जिल्लाका ४ हजार ६३० जना युवालाई २१ विधामा सीपमूलक तालिम प्रदान गरेको हो ।

प्रदेशका युवाका लागि सीपमूलक ३९० घण्टे र १६० घण्टे तथा छोटो अवधिको तालिम सञ्चालन गरिएको प्रदेश युवा परिषद् हेटौँडाका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँईले बताए । उनका अनुसार मकवानपुरमा ९०० जना, चितवनमा ६०० जना, धादिङमा ३४० जना, नुवाकोटमा २३० जना, रसुवामा १६० जना, काठमाडौँमा २२० जनालाई सीपमूलक तालिम दिइएको छ । त्यस्तै भक्तपुरमा २०० जना, ललितपुरमा १६० जना, काभ्रेमा ३४० जना, सिन्धुपाल्चोकमा २२० जना, दोलखामा ३४० जना, रामेछापमा १४० जना र सिन्धुलीमा ३४० जना युवालाई प्रदेश युवा परिषद्ले सीपमूलक तालिम दिएको हो ।

युवाको ज्ञानसीप, सृजना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परिषद्ले विविध कार्यक्रम सञ्चालन गरेको कार्यकारी उपाध्यक्ष चौलागाइँले बताए । ‘युवालाई स्वरोजगार बनाउन २१ विधाका तालिम सञ्चालन गरेका छौँ, यहाँबाट सीप सिकेका युवा व्यवसायीका पनि हुनु भएको छ’–उपाध्यक्ष चौलागाइँले भने ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका १९ मा ४० जना लक्षित बर्गका महिलाहरुका लागि पानीपुरी, चटपटे तथा स्ट्रिट फुड बनाउने तालिम, उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १ का २० जना महिलालाई अल्लोबाट कपडा बनाउने तालिम, मनहरीका २० जना महिलालाई ढाका कपडा बुनाइ तालिम प्रदान गरिएको प्रदेश युवा परिषद् हेटौँडाले जानकारी दिएको छ ।

प्रदेशका १३ वटै जिल्लाका २५० युवालाई सहभागि गराई १३ बुँदे बागमती युवा सीप वर्ष २०८१ घोषणा गरिएको थियो । द्वन्द्व पीडित, घाइते, अपाङ्गता भएका महिला लक्षित कार्यक्रम अन्र्तगत ६० जना महिलालाई लोकसेवा तयारी कक्षा, ४५ जना युवालाई नमुना युवा संसद् अभ्यास कार्यक्रम, कालिका नगरपालिका चितवनमा ४० जनालाई नगरसभा कार्यक्रममा सहभागि गराइएको र सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा दुग्ध जन्य पदार्थ बिक्री वितरणका लागि ३० जना युवालाई तालिम दिइएको परिषद्ले जनाएको छ ।

परिषद्ले विद्यालयमा अध्ययनरत किशोरीहरूको आत्मरक्षाका लागि तालिम सञ्चालन गर्न प्रत्येक जिल्लाका दुइजना महिला शिक्षकलाई पुनतार्जगी तालिम, ३९० घण्टे पूर्ण रोजगार तथा सीपमूलक तालिम अन्र्तगत ३६० जनाका लागि सीपमूलक तालिम सञ्चालन गरिएको छ ।

चालु आवमा युवा परिषद् स्वरोजगार कार्यक्रम अन्र्तगत कृषि तथा पशुपालन व्यवसायमा लागेका बागमती प्रदेशका १३ जिल्लाका ५० जना युवा उद्यमीलाई ५० हजार बराबरको सामाग्री वितरण र युवाहरूबाट कला तथा साहित्यको उत्थान र संरक्षणका लागि एक दिने राष्ट्रिय युवा कवि सम्मेलन पनि गरिएको थियो ।

परिषद्ले मानव बेचबिखन, महिला हिंसा, जातीय तथा लैङ्गिक विभेद, लागू पदार्थ दुर्व्यसन, साइबर क्राइम तथा शुसासन सम्बन्धि कार्यक्रममा प्रदेशभर सञ्चालन गरेको थियो । प्रदेश युवा परिषद् सदस्य तथा युवा समितिका पदाधिकारीलाई क्षमता विकास तालिम, जिल्लाका एक–एक नगरपालिका प्रमुख वा उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई युवामैत्री स्थानीय तह बनाउन कार्यक्रम सञ्चालन गरिएको थियो ।

युवालाई स्वदेशमै स्वरोजगार बनाउने र बिदेश गएपनि सीप सिकेर मात्रै जानका लागि सीपमूलक तालिम सञ्चालन गरिएको परिषद्ले जनाएको छ । परिषद्ले सीपमूलक कार्यक्रमका लागि कुल १२ करोड ८० लाख रुपैयाँ बजेट छुट्याएको थियो ।