हेटौँडा । मकवानपुरमा उत्पादित सामग्री विदेश निर्यात हुने दर बर्सेनि घट्दो अवस्थामा रहेको छ । विभिन्न प्रतिकूलताका कारण औद्योगिक उत्पादनमा आएको कमीले बर्सेनि निर्यात दर घटेको हो । मकवानपुरबाट छिमेकी राष्ट्र भारत तथा तेस्रो मुलुकसँगको निर्यात व्यापार निरन्तर ओरालो लागेको तथ्याङ्कले देखाएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रभित्र मात्रै सयभन्दा बढी उद्योगका साथै बहुराष्ट्रिय कम्पनीहरूले औद्योगिक उत्पादन गरिरहे पनि उत्पादित सामाग्री विदेशी निर्यातको अवस्था भने निराशाजनक रहेको तथ्याङ्क छ ।
गत आर्थिक वर्ष २०८०–०८१ मा मकवानपुरबाट करिब सवा ५९ करोड रुपैयाँको औद्योगिक उत्पादन भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७९–०८० मा निर्यात व्यापार साढे ६८ करोड रुपैयाँ थियो । त्यसअघि आव २०७८–०७९ मा ४ वटा उद्योगले ३ अर्ब ४ करोड रुपैयाँको औद्योगिक उत्पादन निर्यात गरेकोमा गत वर्षमा आइपुग्दा सवा ५९ करोडमा खुम्चिएको हो ।
पेय पदार्थको बिर्को उत्पादन गरी भारत निर्यात गर्ने प्याक्ट ग्रुप क्लोजर सिस्टम नेपाल प्रालि र पानमा प्रयोग हुने मसला निर्यात गर्ने हिमालय कत्थाले मकवानपुरको निर्यात व्यापारमा सबैभन्दा धेरै योगदान गरिरहेको छ । बितेको वर्ष प्याक्ट ग्रुपले मकवानपुरबाट ३० करोड ७४ लाख ३३ हजार रुपैयाँको सामाग्री निर्यात गरेको थियो । बहुराष्ट्रिय उद्योगहरूको पेय पदार्थको बिर्को उत्पादन गरिरहेको कम्पनीले आव २०७९–०८० मा पनि ३१ करोड ८४ लाख रुपैयाँको सामान भारत र अष्ट्रेलिया पठाएको थियो ।
प्लाष्टिकको बोरा उत्पादन गरी निर्यात गरिरहेको गोदावरी पोलिप्याक्स एण्ड फेबिक प्रालिले विगतका वर्षहरूमा करोडौँको निकासी गरिरहेकोमा गत वर्ष शून्य निर्यात गरेको छ । २०७८–७९ मा एक अर्ब ४२ करोड ६८ हजार रुपैयाँको सामान निर्यात गरेको गोदावरी पोलिप्याक्स एण्ड फेबिक प्रालिको निर्यात आव २०७९–८० मा ७२ लाख ४७ हजारमा खुम्चिएको थियो । गत वर्ष भने गोदावरीको निर्यात शून्य भएको हो ।
२०७९÷०८० मा १७ करोड ८८ लाखको निर्यात गरेको हिमालय कत्था उद्योगको निर्यात भने गत वर्ष २३ करोड ७५ लाख रुपैयाँमा उक्लिएको छ । ऋद्धिसिद्धि सिमेन्टले पनि गत वर्ष ४६ लाख ९६ हजार रुपैयाँको सिमेन्ट निर्यात गरेको तथ्यांङक मकवानपुर उद्योग वाणिज्य संघले दिएको छ । स्थानीय जडिबुटीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाइफ साइन्सेस प्रालिले पनि गत वर्ष ३ करोड ५३ लाख रुपैयाँको सामाग्री निर्यात गरेको जनाइएको छ । आव २०७९–०८० मा कम्पनीको निर्यात २ करोड ५४ लाख रुपैयाँ मात्रै थियो । यसैगरी सिक्स भिल्ला प्रालिले ४४ लाख ७८ हजार रुपैयाँको सामाग्री दुबई निकासी गरेको थियो भने नेपाल इकरात इन्जिनियरिङ कम्पनीले २४ लाख ९२ हजार रुपैयाँको ट्रान्समिटर भार निकासी गरेको मकवानपुर उद्योग वाणिज्य सङ्घका सहायक अधिकृत विजय भण्डारीले जानकारी दिए ।
त्यस्तै बिस्कुट उत्पादन गर्ने खजुरीले १ लाख १७ हजारको सामाग्री विदेश निर्यात गरेको छ । आर्थिक मन्दीलगायतका कारण निर्यात व्यापार खुम्चँदै गएको उद्योग वाणिज्य सङ्घको बुझाई छ । मकवानपुरमा भएका बहुराष्ट्रिय कम्पनीहरूले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योगहरू बन्द हुनुका कारणले पनि मकवानपुरको निर्यात व्यापारमा कमी आएको मकवानपुर उद्योग वाणिज्य संघका सहायक अधिकृत विजय भण्डारीले बताए । बर्सेनि करोडौँको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोल्गेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु बन्द भइसकेका छन् ।
त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरू पनि हाल अस्तित्वमा छैनन् । एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता वहुर्राष्ट्रिय उद्योगले पनि १० वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केहीवर्षअघिदेखि भारत निकासी बन्द गरिसकेको छ । मकवानपुरबाट क्रसरजन्य उत्पादन विदेश निकासी बन्द भएपछि निर्यातजन्य व्यापारमा ठुलो प्रभाव परेको छ । गोरखापत्रबाट साभार
प्रतिक्रिया दिनुहोस्