हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन । उद्योग सङ्घ मकवानपुरको ४६ औँ वार्षिकोत्सव कार्यक्रमलाई शुक्रवार हेटौँडामा सम्बोधन गर्दै उनले लगानी भित्र्याउने वातावरण बनाएर उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

विभिन्न सङ्घ, सङ्गठन बनाएर भन्दा पनि एक ढिक्का भएर उद्योगी व्यवसायी अगाडि बढे अधिकार प्राप्त गर्न सहज हुने उनको भनाई छ । प्रसङ्ग जोड्दै उनले प्रदेश सरकारले आम्दानी हुने ठाउँमा मात्रै लगानी गर्ने स्पष्ट पार्दै गुम्बा र मन्दिरमा धेरै लगानी भए पनि प्रतिफल नआएको बताए ।

एकीकृत विकास नहुँदा नतिजा पनि राम्रो नआएको उनको भनाई छ । प्रदेशमा निर्माण भएको शीत भण्डार र डाँडा डाँडामा बनाइएको भ्यु टावरमा गरिएको लगानीले उपलब्धि दिन नसकेको उनले बताए । उद्योग व्यवसाय, शिक्षा सबै क्षेत्रमा सुधार आवश्यक रहेको औँल्याउँदै उत्पादनमूलक कार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुक माया तामाङले उद्योग व्यवसायलाई प्रोत्साहन गर्न दर्तामा छुटको व्यवस्था मिलाएको बताइन् । उद्योग र वाणिज्य नीति बनाउन उद्योगी व्यवसायीसँग छलफल र सुझाव लिएर नीतिगत ढङ्गले अगाडि बढेको उनको भनाई छ । सिन्धुली र नुवाकोटमा औद्योगिक ग्राम निर्माणका लागि प्रदेश सरकारले काम गरिरहेको बताउँदै उत्पादनसँग जोडिएर काम गर्न आग्रह गरिन ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलान, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतकाले उद्योग व्यवसाय राम्रो भए अरू क्षेत्र पनि फस्टाउने बताए ।

उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले नेपालको कुलग्राहस्थ उत्पादन क्षेत्रमा उद्योग क्षेत्रको योगदान १५ प्रतिशत रहेपनि अहिले ५ प्रतिशतमा खुम्चिएकोप्रति चिन्ता व्यक्त गरे । उद्यम र उद्यमशीलतामा सरकारले ध्यान दिन नसकेको आरोप लगाउँदै चालु खर्च धेरै र विकास निर्माण पूर्वाधारमा न्यून बजेट छुटाएको बताए ।

सोही अवसरमा उद्योग प्रतिष्ठानलाई सम्मान पनि गरिएको छ । स्थानीय स्तरमा पाइने कच्चा पदार्थ प्रयोग गरेर कृषिजन्य उत्पादन गर्ने साना उद्योग मध्यबाट शुभ डेरी इण्डष्ट्रि, धेरै रोजगार दिने मझौला उद्योगबाट नेपाल पास्ता फुड्स प्रालि र ठुला उद्योग मध्य नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

Visited 40 times, 1 visit(s) today