
स्वास्थ्य पर्यावरण अनि पर्यटनका निम्ति साइकल भन्ने अभियानका साथ देशका विविध क्षेत्रमा साइकल यात्रा गर्दै पुग्ने क्रममा गत वैशाख १२ र १३ गते साइकल सिटी हेटौँडाको आयोजनामा देशभरिका साइकल यात्रीहरूलाई समेटी मकवानपुरको हेटौँडा देखि चितवनको सौराहासम्मको दुई दिवसीय साइकल यात्रा “राईड हेटौँडा टु सौराहा–२०८२“ सम्पन्न भएको छ ।
जलवायु परिवर्तनमा मानिसको भूमिका अत्यधिक रहेकोले कार्बन उत्सर्जन गर्ने पेट्रोलियम खपतका साधनहरूको विकल्पमा साइकलको उपयोग गर्दै आन्तरिक पर्यटनमा विशेष पहल गर्ने तथा नव पीढीलाई साइकलको उपयोगिताको व्यापक प्रचारप्रसार गरी आजकालको अल्छी जीवनयापन त्यागेर प्राकृतिक जीवनशैलीबाट स्वास्थ्य समाजको निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न गरिएको हो । देशभरिबाट ५५ जिल्लाबाट सहभागी ५६१ साइकल यात्रीहरू, झन्डै ५० जना भन्दा बढी अतिथिहरू एकै पटक १२ गते बिहान ७ः०० बजे एउटै ड्रेसमा बुद्ध चोक हेटौँडामा उपस्थिति जनाउँदा एउटा छुट्टै माहौल बनिरहेको थियो जुन माहौलले हेटौँडालाई साइकल सिटिको रूपमा परिचित गर्दै थियो र अब बन्ने सडक तथा सडक बिस्तार हुने क्रममा साइकल लेन सहित सडक बनाउनु पर्ने तथा साइकल यात्रीलाई पनि सडक उपयोगको लागि छुट्टै स्थान दिइनु पर्ने कुरा दर्साइरहेको थियो ।
कार्यक्रममा विश्व साइकल यात्री एवम् पर्वतारोही पुष्कर साह, विश्व साइकल यात्री अजित बराल, साइकल अभियन्ता डा. तारालाल श्रेष्ठ, नायक सम्राट् सापकोटा, भद्रपुर नगर प्रमुख जीवन कुमार श्रेष्ठ, सशस्त्र प्रहरी प्रमुख डा. नेत्र बहादुर कार्की, क्यान्सर पीडित साइकल यात्री ध्रुव हुमागाईँ, क्यान्सर पीडित मेची महाकाली यात्री एच बि वर्मा लगायत देशभरिका साईक्लिंग संस्था, क्लब तथा सङ्घहरूबाट अध्यक्ष एवम् प्रतिनिधि लगायत तमाम साइकल यात्रीहरूको उपस्थिति थियो ।
साइकल सिटी हेटौँडाले स्थापनाको छैटौँ महिना पार गर्दै गर्दा यसरी हेटौँडामा राष्ट्रिय स्तरको कार्यक्रम गरेर देशभरिबाट झन्डै ७०० को जनमानसलाई हेटौडाको पहिचानको लागि विभिन्न सांस्कृतिक भेसभुसा, झाकी सहित बुद्ध चोकबाट सुरु गरिएको यात्रा बनस्खण्डी मन्दिर तथा भुटनदेवी मन्दिर परिक्रमा गराउँदै ९ः०० बजे तिर बजार परिक्रमा सकाएर गोरक्षेश्वर मन्दिरको बाटो हुँदै राप्ति पुल तरेर सौराहा तर्फ साइकल यात्रा अघि बढाइएको थियो। यात्रामा ९ वर्ष देखि ७४ वर्ष सम्मका व्यक्तिहरूको उपस्थितिमा विभिन्न रोगलाई साइकलको उपयोगबाट जितेर स्वास्थ्य हुनुभएका उदाहरणीय व्यक्तिहरूको उपस्थितिले कार्यक्रम रोचक तथा ज्ञानवर्धक बनिरहेको थियो ।
तातो घाममा पनि सबै साइकल यात्रीहरू उत्साह पूर्वक एकजुट भएर बाटोको एकातर्फि डबल लाइनका साथ सुरक्षित तवर यात्रा गरिएको साथै उच्च तहको व्यवस्थापन भएकोले यात्राको दौरानमा कोही कसैलाई पनि कुनै किसिमको समस्या नआएको साथै हेटौँडा देखि सौराहा पुग्ने बेला सम्ममा विभिन्न पालिका, वडा, सामाजिक सङ्घ संस्थाहरूले आ–आफ्नो तरिकाले मोही, लस्सी, केरा, चिसो, पानी आदिबाट स्वागत गरिरहनु भएकोले यात्रा अझै रमणीय बनिरहेको थियो। लोत्थर पुल कटेपछि मेन बाटोलाई छोडेर जङ्गल तर्फबाट खोलाको बाधको कच्ची बाटोबाट सौराहा प्रवेश झनै रमाइलो यात्रा बन्न गयो उक्त बाटोमा हाम्रो मात्रै उपस्थिति देखिँदा एकदमै मनमोहक दृश्य देखिएको थियो ।
यस्तै क्रममा करिब ५ः०० बजे तिर हामी सौराहा रोयल सफारी होटेलमा पुग्न सफल भएका थियौ भने साझको सांस्कृतिक कार्यक्रम तथा थकित अवस्थाको रात्रि भोजनले सबै दुख भुलेर हामी झन्डै ७०० जना आ–आफ्नो बासमा स्वर्गको अनुभव गर्न सफल रहेका थियौ। बिहानी ६ः०० बजेबाट ५०० जनाको लागि जिप सफारी तथा खाजा नास्ताको क्रियाकलाप १२ः०० बजे सम्म चलिरह्यो भने १२ः०० बजे पछि दिवा खाना लिएपछि सहभागिताको प्रमाणपत्र वितरण गरेर कार्यक्रम समापन गरिएको हो। उक्त कार्यक्रमबाट मानिसमा स्वास्थ्य र पर्यावरण बचाउको लागि चेतनाको स्तर बढ्दै गएको प्रस्ट देखिन्थ्यो। साइकल सामान्य, कमजोर आर्थिक अवस्था भएको व्यक्तिले चढ्ने साधन मात्र नभएर एउटा शिक्षित, बौद्धिक, सामाजिक, राजनैतिक, वैज्ञानिक अवधारणा राख्ने व्यक्तित्वले चढ्ने साधन हो जसले वातावरणमा भएका प्रदूषित श्वास लिएर अरूका स्वस्थताको लागि साइकल चढिरहेको हुन्छ, कार्बन उत्सर्जनमा कमी होस् भनेर पेट्रोलियम पदार्थका साधनलाई ग्यारेजमै थन्क्याएर साइकल चढिरहेको हुन्छ। यसरी साइकल चढ्नु उसको बाध्यता नभएर महानता रहेको कुरा हामी सबैले बुझिदिने हो भने पक्कै साइकल यात्रीहरूले खुसीको श्वास फेर्ने थिए ।
यसरी वैशाख १२ र १३ गतेमा “राईड हेटौँडा टु सौराहा कार्यक्रम सम्पन्न गर्नका लागि हामीलाई सहयोग गर्नुहुने संस्कृति तथा पर्यटन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, बन तथा वातावरण मन्त्रालय, हेटौँडा उपमहानगरपालिका, एनटिएनसी, डब्लूडब्लूएफ, जेडएसएल, कृषि विकास बैङ्क, भिमफेदि गाउँपालिका, मनहरी गाउँपालिका, कैलाश गाउँपालिका, रत्न नगर नगरपालिका, निको अस्पताल लगायत सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग मिल्ने अपेक्षा सहित हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
जय साइकल
लेखनाथ ढकाल, अध्यक्ष, साइकल सिटी हेटौँडा
प्रतिक्रिया दिनुहोस्