हेटौँडा । बागमती प्रदेश सरकारको करोडौँ लगानीमा निर्माण भएको ‘भ्यु टावर’ (दृश्यावलोकन स्तम्भ) बाट शुन्य आम्दानी भएको छ । हचुवाको भरमा अध्ययन बिना सञ्चालन कार्यबिधि नबनाइ प्रदेशका ८ जिल्लाको ९ स्थानमा निर्माण भएको भ्यु टावर प्रयोग विहिन अवस्थामा छ । आर्थिक वर्ष २०७५-७६ देखि २०७९-८० सम्ममा नौ वटा ‘भ्यु टावर’ बनाउन २८ करोड ७२ लाख ४८ हजार १८२ रुपियाँ खर्च भएको थियो । प्रदेशको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले भ्यु टावरको योजना बजेटमा समावेश गरेको थियो ।
प्रदेशका १३ जिल्लामध्ये मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, सिन्धुली, धादिङ र दोलखामा ‘भ्यु टावर’ निर्माण भएको छ । २०७६ सालमा सम्झौता गरेर २०७९ सालसम्ममा सबै ‘भ्यु टावर’ को निर्माण सम्पन्न भएपनि तीन बर्ष वित्दा पनि सञ्चालनमा आउन सकेको छैन । सुरुमा निर्माण कम्पनीले निर्माण गर्न ढिलाइ गरेपनि निर्माण सम्पन्न पश्चात बनिसकेका संरचना सञ्चालनमा ल्याउन प्रदेश सरकारले कुनै चासो दिएको छैन ।
२०७६ सालबाट भ्यु टावरको योजना ल्याएको प्रदेश सरकारले २०८२ सालमा पनि अझैँ सञ्चालनमा ल्याउन नसकेको हो । २०७७, २०७९ र २०८० मै निर्माण सम्पन्न भइसकेका भ्यु टावर प्रदेश सरकारले कार्यबिधि नबनाउँदा सञ्चालनमा आउन सकेको छैन । प्रदेश सरकारले करोडौँ रुपियाँ खर्च गरेर भ्यु टावर निर्माण गरेको वर्षौ बित्दा पनि सञ्चालनमा आउन नसक्दा लाखौँ रुपियाँ राजस्व गुमेको छ । समयमै सञ्चालन कार्यबिधि ल्याएर स्थानीयतहलाई हस्तान्तरण गर्न सकेको भए सरकारको खातामा लाखौँ रुपियाँ राजस्व जम्मा हुने थियो ।
आवश्यकता अध्ययन बिना अग्ला डाडामा बनाइएका सबै टावर अलपत्र अवस्थामा रहेका छन । निर्माण सम्पन्न भएको तीन बर्ष बितिसक्दा हस्तान्तरण नहुँदा संरक्षणको अभावमा केही टावरको संरचना टुटफुट भइसकेको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय अन्र्तगतको पर्यटन विकास आयोजना प्रमुख रोशन कुमार श्रीवास्तवले जानकारी दिए । सिन्धुली जिल्लाको सिद्दबाबा चुचुरोमा निर्माण भएको भ्यु टावरमा लगाइएको सिसा फुटेको जानकारी दिर्दै प्रदेशले हस्तान्तरण नहुँदै मर्मत गर्न थालेको बताए । ‘केही समयअघि भ्यु टावर सञ्चालनका लागि हामीले सिन्धुलीमा स्थानीय सरकारलाई अनुरोध गरेका थियौँ, सञ्चालन कार्यबिधि नभएकाले उहाँहरुले मान्नु भएन, निर्माण भएका अधिकांश टावर पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ,’–आयोजना प्रमुख श्रीवास्तवले भने ।
भ्यु टावर निर्माण भएको स्थानबाट प्राप्त हुने आम्दानीको आधारमा शुल्कतय गर्नुपर्ने भएपनि स्थानीय सरकारले प्रदेश सरकारलाई नटेरेको उनको भनाई छ । सम्बन्धित स्थानीय तहसँग त्यहाँ हुने सक्ने आम्दानीको आंकलन सम्बन्धि तथ्याङ्क माग गरेपनि त्यो प्राप्त हुन सकेको छैन । सञ्चालन कार्यविधि विना करोडौँ लगानी गर्नु प्रदेश सरकारको गम्भीर त्रुटि भएकाले त्यसलाई सच्याएर सञ्चालन कार्यविधि बनाए स्थानीयतह भ्यु टावर सञ्चालन गर्न तयार रहेको उनको भनाई छ । प्रदेश सरकारले ठोस योजना बिना कार्यक्रम स्वीकृत गरेर डाडाकाडामा भ्यु टावर निर्माण गर्दा अहिले अलपत्र परेको छ । प्रदेश सरकारले गरेको कामको स्वामित्व स्थानीय तहले नलिदा पछिल्लो समय समस्या भएको आयोजना प्रमुख श्रीवास्तवको बुझाई छ । भ्यु टावर सञ्चालनका लागि २०७९-८० मै कार्यविधिको मस्यौदा बनाइएको भएपनि राजनीतिक अङ्क गणीतको फेरबदल सँगै मन्त्री र सचिव परिर्वतन हुँदा त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ ।
हस्तान्तरणको चरणमा
बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयका प्रदेश सचिव दीपेन्द्र सुवेदीले आगामी आवको साउन भित्रै स्थानीय तहलाई भ्यु टावर हस्तान्तरण गर्ने तयारीमा रहेको जानकारी दिए । पर्यटन पूर्वाधार हस्तान्तरण तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत भइसकेको उनले बताए । ‘भ्यु टावर सञ्चालन कार्यविधि स्वीकृत भइसक्यो, टुटफुट भएको संरचनाको मर्मत गर्न पनि बजेट विनियोजन गरेका छौँ, साउनबाट कार्यान्वयनको चरणमा जान्छौँ,’–उनले भने ।
संरचनालाई मर्मत सम्भार गरेर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रक्रियामा चाडै जाने उहाँको भनाई छ । प्रदेश पर्यटन ऐन, २०७८ को दफा १७७ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरेर मन्त्रालयले कार्यविधि तयार गरेको हो । बनेका संरचना स्थानीय सरकारलाई हस्तान्तरण गरेर स्थानीय सरकारले टेण्डर गरेर प्रयोगमा ल्याउँदा ७० प्रतिशत त्यहाँको जनशक्ति व्यवस्थापन र सामान्य मर्मतमा खर्च गर्ने र ३० प्रतिशत प्रदेश सरकारको संचित कोषमा पठाउनेगरी अगाडि बढाइएको छ ।
मर्मतका लागि बजेट
प्रदेश सरकारको लगानीमा निर्माण भएको भ्यु टावर निर्माण सम्पन्न भएर सञ्चालनमा नआउँदै मर्मतका लागि पूर्वाधार हस्तान्तरण कार्यक्रम (स्थानीय तहमा) शीर्षकमा ३२ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८२÷८३ का लागि भ्यु टावर मर्मत गर्न संस्कृति तथा पर्यटन मन्त्रालयले सो बजेट विनियोजन गरेको हो । मर्मत संभार गर्दै हस्तान्तरणको प्रक्रियामा जाने मन्त्रालयको भनाई छ ।
कति लगानीमा कहाँ कहाँ बन्यो भ्यु टावर ?
मकवानपुरको चित्लाङमा चित्लाङ हिलस्टेसन प्याकेज कार्यक्रम २०७६ र २०७८ मा कार्यान्वयन गरिएको थियो । भ्यु टावर, क्रियसन हल, शौचालय, रिटेनिङ वाल, गेट, गार्ड हाउस र सपोर्ट फेसिलिटी योजनाका लागि दुई चरणमा गरेर मूल्य समायोजनासहित ५ करोड २७ लाख ४७ हजार ८ सय ५२ रुपैयाँ खर्च भएको छ । चित्लाङ हिलस्टेसन थाहा नगरपालिका वा स्थानीय सामुदायिक वनलाई हस्तान्तरण गर्नुपर्ने पर्यटन विकास आयोजनाले जनाएको छ ।
नुवाकोटको ककनी हिल स्टेसन पनि ०७६ र ०७८ गरी दुई चरणमा मूल्य समायोजनसहित पाँच करोड ८८ लाख ८६ हजार ८५ रुपैयाँमा निर्माण गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज बफर जोनभित्र परेको भ्युटावरसहित सभाहल गेट, शौचालय, गार्ड हाउस र ब्लक छाप्ने कार्य सकेर ककनी गाउँपालिकालाई हस्तान्तरण गर्ने आयोजनाले जनाएको छ । सिन्धुपाल्चोकमा तीन करोड पाँच लाख २६ हजार ८७८ रुपियाँमा मल्टिप्रपोज हलसहितको भ्युटावर १० पुस २०७७ मा निर्माण भएको थियो । पर्यटन विकास आयोजना, हेटौँडा अन्तर्गत निर्माण भएका यी ‘हिल स्टेसन’ २०७६ सालमा सम्झौता भई २०७७ सालमा निर्माण सम्पन्न भएका हुन् ।
२०७७ साल असोजमा सम्झौता भई २०७८ चैतमा सम्पन्न भएका ‘हिल स्टेसन’ मा काभ्रेको रोसी भूमिचुलीमा दुई करोड १९ लाख ८१ हजार ६५३ रुपियाँ, रामेछापको गोगनपानी सुलीथुम्का खाँडादेवी–५ मा दुई करोड ६५ लाख ८६ हजार ३४७ रुपियाँमा भ्यु टावर, प्रवेश द्वार, अफिस भवन र शौचालय तथा सिन्धुली जिल्लाको सिद्दबाबा चुचुरोमा दुई करोड सात लाख ५५ हजार ९२० रुपियाँमा ‘भ्यु टावर’, रिटेनिङ पर्खाल, पदमार्ग, ढुङ्गा छाप्ने काम भएको पर्यटन विकास आयोजनाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
यसै गरी नुवाकोटको चिम्टेश्वरमा वन वगौचा पार्क र भ्यु टावर निर्माण गरि नुवाकोट नुमना गन्तव्य बनाउन दुई करोड ७४ लाख ३८ हजार ७६८ रुपियाँ खर्च भएको छ । २०७७ भदौमा सम्झौँता भई २०७९ फागुन अन्तिममा निर्माण कार्य सम्पन्न भएको थियो ।
धादिङ जिल्लाको तोप्लाङमा तोप्लाङ्ग भ्यु टावर र शौचालय निर्माणका लागि दुई करोड १८ लाख ८९ हजार ६६९ रुपियाँमा लागेको थियो । २०७७ भदौमा सम्झौता भइ २०७९ चैत अन्तिममा निर्माण सम्पन्न भएको आयोजनाले दिएको तथ्याङ्कमा उल्लेख छ । दोलखा जिल्लाको जिरी ‘हिल स्टेसन’ प्याकेजमा दोलखा भ्यु टावर, वहुउद्देश्यीय भवन र वन वगैचा निर्माण गरि नमुना गन्तव्य निर्माण गरिएको हो । २०७७ भदौ अन्तिममा सम्झौता भई दुई करोड ६४ लाख ३४ हजार ९९६ रुपियाँको लागतमा २०७९ फागुनमा निर्माण सम्पन्न भएका पर्यटन विकास आयोजनाका प्रमुख श्रीवास्तवले जानकारी दिए ।
स्थानीय तह व्यवस्थापन गर्न इच्छुक
प्रदेश सरकारले निर्माण गरेको ‘भ्यु टावर’ लगायतका पर्यटन पूर्वाधार सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तह इच्छुक देखिएका छन् । प्रदेश सरकारले सञ्चालन कार्यविधि बनाएर हस्तान्तरण गरे स्थानीयतह भ्यु टावर लगायतका पर्यटकीय संरचना सञ्चालनको लागि तयार रहेका हुन । प्रदेश सरकारको लगानीमा काठमाडौँको पश्चिममा रहेको मकवानपुरको थाहा नगरपालिका–९ मा पर्ने चित्लाङ ‘हिल स्टेसन’ दुई वर्षअघि निर्माण सम्पन्न भएका मकवानपुर थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए । उनले प्रदेश सरकारले कार्यविधि बनाएर हस्तान्तरण गरे आफुहरु सञ्चालन गर्न तयार रहेको प्रतिक्रिया दिए । उनले प्रतिपष्र्धाको आधारमा भ्यु टावर सञ्चालन गर्न नीजि क्षेत्रलाई दिन सके संरक्षण र आम्दानी पनि बढ्ने विश्वास व्यक्त गरे ।
सिन्धुलीको कमलामाई नगरपालिका–४, च्याउकोट सिद्धबाबाका वडाध्यक्ष महेन्द्र प्रसाद ढकालले भ्यु टावर निर्माण सम्पन्न भइसकेको र प्रदेश सरकारबाट हस्तान्तरण हुन बाँकी रहेको जानकारी दिए । निर्माण भएको संरचना केही टुटफुट भएकाले त्यसको मर्मत संभारपश्चात हस्तान्तरण भए आफुहरु भ्यु टावर संचालन गर्न इच्छुक रहेको बताए। यो स्थान धार्मिक र पर्यटकीय स्थल भएकाले अहिले पनि तराईतिरबाट आन्तरिक पर्यटक घुम्न आउने गरेकाले भ्यु टावर सञ्चालन गर्न स्थानीय सरकार तयार रहेको प्रतिक्रिया दिए ।
रामेछापको खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले सुलीथुम्का खाँडादेवी–५ मा तीन बर्षअघि नै निर्माण सम्पन्न भएर बसेको भ्यु टावर स्थानीय सरकारले सञ्चालन गर्न इच्छुक रहेको बताए । हस्तान्तरण नभइसकेकाले बेला बेलामा सरसफाइ गर्ने र संरक्षणको काम पनि स्थानीय सरकारले गर्दै आइरहेको उनले बताए । गाउँपालिका नजिकै रहेको र यहाँ वरपर गुम्बा, स्तुफा, पार्क बनेकाले सिन्धुली, काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका क्षेत्रबाट यहाँ पर्यटक आउने गरेको उनको भनाई छ ।


अनिल पराजुली 









प्रतिक्रिया दिनुहोस्