हेटौंडा । हेटौंडाको नागस्वती भेट्रान्सलाई स्तब्ध पार्दै पोखराको एबिसी भेट्रान्सले सातौं संस्करणको उपाधि जितेको छ । घरेलु दर्शकको समर्थन पाएको नागस्वतीलाई २–१ ले हराउँदै पोखराले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो ।

हेटौंडा उपमहानगरपालिका–५ क्यापडाँडामा निर्माणाधीन रंगशालामा भएको खेलको सातौं मिनेटमा हरि खड्काको गोलबाट पोखराले अग्रता लिएको थियो । नागस्वतीका नरेन लिम्बुले १७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर दोस्रो हाफको २७ औं मिनेटमा पोखरा एबिसीका लागि नरेन्द्रजंग गुरुङले गोल गर्दै जित सुनिश्चित गरे । उपविजेता नागस्वतीले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाएको छ ।

खेलमा एबिसी पोखराका नरेन्द्रजंग गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

विभिन्न जिल्लाका १८ भेट्रान्स टोलीको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट गोल किपर एबिसीका सूर्य शर्मा, उत्कृष्ट प्रशिक्षक एबिसीका सुरज गुरुङ, उत्कृष्ट मिडफिल्डर एबिसीका महेन्द्र गुरुङ, उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, उत्कृष्ट डिफेन्डर नागस्वतीका मिलन राई घोषित भए । उनीहरुले जनही नगद ५/५ हजार रुपैयाँ पुरस्कार पाए ।

सर्वोत्कृष्ट खेलाडी एविसीका विश्वराज श्रेष्ठ ठहरिए । हेटौंडा भेट्रान्सको आयोजनामा भएको यो प्रतियोगिताको सातौं संस्करण हो ।

अनिरुद्रखबर संवाददाता
थप जानकारी