हेटौँडा । बागमती प्रदेश स्पोर्टस अवार्ड एन्ड यूथ समिट हुने भएको छ । बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पहिलो पटक प्रदेशका पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र पत्रकारलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

अवार्ड जेठ ४ गते आइतबार प्रदेशको राजधानी हेटौँडा स्थित हुप्राचौरमा हुनेछ । बागमती प्रदेश स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी महिला- पुरुष, युवा, प्रशिक्षक, लाइभ टाइम एचिभमेन्ट, बागमती खेलकुदको शान, लोकप्रिय खेलाडी, उत्कृष्ट पत्रकार समेत ८ विधामा १२ जना छनोट गरी अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट महिला–पुरुष, लाइभ टाइम एचिभमेन्ट अवार्ड, बागमती खेलकुदको शान, प्रशिक्षकलाई अवार्डसहित १ लाख रुपैयाँ तथा अन्य विधालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनछ । साथै विभिन्न कलाकारको प्रस्तुति रहने युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश, हेटौँडाका निमित्त सचिव सूर्य बहादुर दाहालले जानकारी दिए । अवार्ड कार्यक्रममा प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) प्रमुख रहने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

यूथ समिट भने केही सातापछि आयोजना गरिनेछ । खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका पूर्व र वर्तमान खेलाडी जसले प्रदेश र देशको सम्मान बढाउन आफ्नोतर्फबाट महत्त्वपूर्ण योगदानको कदर र नयाँ पुस्तालाई खेलकुदमा आबद्ध हुन अवार्डको आयोजना गर्न लागिएको बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

दीपक श्रेष्ठको संयोजकत्वमा व्यवस्थापकीय सहजीकरणको लागि ३ सदस्यीय प्राविधिक उप समिति गठन गरिएको छ । समितिले अवार्डका लागि खेल व्यक्तित्वको नाम सिफारिस गर्नेछ । खेलाडी वा प्रशिक्षकका रूपमा विगतमा पु¥याएको योगदान, हाल दिलाएको सफलता, समाजमा त्यसको प्रभाव, नयाँ पुस्तालाई प्रेरणा मिल्ने उद्देश्यलाई पनि अवार्ड दिने व्यक्तित्व छनोटको क्रमलाई ध्यानमा राखिने आयोजकले जनाएको छ ।

सक्रियता, योगदान र सफलताका आधारमा अवार्डको विधा पनि निर्धारण गरिएको छ । खेलकुदको प्रचार र प्रसारमा योगदान गरेको एक वरिष्ठ खेल पत्रकारलाई पनि अवार्डमा समेटिनेछ । कार्यक्रम सम्पन्न गर्न करिब ३० लाख रुपियाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।

Visited 21 times, 1 visit(s) today