काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लागि दमौलीमा रहेको कारागारमा रहेका अभिनेता पल शाह जेलको बि ब्लकमा छन् ।

जिल्ला अदालत तनहुँको आदेशमा बिहीबार बेलुका सात बजेर १५ मिनेटमा प्रहरीले उनलाई जेल प्रशासनलाई बुझाएको थियो । प्रशासनले उनलाई जेलको स्थान हेरेर बि ब्लकमा राखेको छ ।

बि ब्लकमा उनीसँगै १ सय ६८ जना कैदी÷बन्दी छन् । जेल प्रशासनका अनुसार सो ब्लकको बसाई सामूहिक भएकाले पल पनि सामूहिक बसाइमै छन् ।

’यहाँ जो आए पनि छुट्टै बस्न पाउने सम्भावना छैन । जेलभित्र भएकाहरूसँग घुलमिल भएर बस्नैपर्छ,’ जेलका एक अधिकारीले भने’ पल पनि त्यसरी नै सामूहिक रूपमा बसेका छन् ।’

कलाकार भएकाले भेट्न चाहनेको भिड हुनसक्ने भन्दै जेल प्रशासनले परिवारका सदस्य र नातेदारलाई मात्र भेट्न दिइरहेको छ । उनी जेलमा पुगेपछि उनको परिवारका सदस्य मात्रै भेट्न आएका छन् । उनीहरूले जेलभित्र लैजान सकिने बन्दोबस्तीका सामाग्री दिएका थिए ।

जेलभित्र आफैँ एक्लै पकाएर खान वा सामूहिक मेसमा खान सकिन्छ । जेल प्रशासनले जेलमा रहेकालाई दैनिक ६० रुपैयाँ र सात सय ग्राम चामल दिन्छ खान्कीमा । सामूहिक मेस भित्रै रहेका कैदी÷बन्दीले चलाउँछन् । त्यसका लागि नाइके, भाइ नाइके तोकिएको हुन्छ । पलले मेसमै खाना खाइरहेको जेल स्रोतले बतायो ।