हेटौंडा । मकवानपुर जिल्लाको दुर्गम बकैया गाउँपालिका वडा नम्बर १२ ठिगंनका बिद्यार्थीहरुलाई पाँच लाख बराबरको शैक्षिक सामाग्री बितरण गरिएको छ ।

ललितपुरका २४ जना सामाजिक अभियान्ता मिलेर बकैया १२ ठिंगन स्थित कान्ति माविमा अध्ययनरत २ सय ७९ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको हो । बिद्यार्थीको लागि आवश्यक पर्ने कपी, पेन्सील, झोला लगायतकाको शैक्षिक सामाग्रीहरु बितरण गरिएको बिद्यालयका निवर्तमान अध्यक्ष रुपेन घलेले जानकारी दिए । उनले बिद्यालयलाई शैक्षिक सामाग्री बितरण गर्ने सहयोगी मनप्रति हृदयदेखि धन्यवाद समेत दिए ।

सामाजिक अभियान्ताले बिद्यार्थीहरुले हातमै किताव कापी बाकेर बिद्यालय हिडेको देखेपछि शैक्षिक सामाग्री सहयोग गरेका थिए । शैक्षिक सामाग्री पाएपछि बिद्यार्थीहरु पनि खुसी भएका थिए ।

यस बिद्यालयमा बकैया ११ वाइवा लोसे, सिमलट्वाक, कुन्चेपोकल, सिमात, बकैया १२ कोलखोप, रातोमाटे चारघरे, ठिंगन डाडा, धेत्रे, धारापानी र भीमफेदी गाउँपालिका वडा नम्बर ८ भर्‍याङडाडा र गंगगेबाट बिद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन । यस बिद्यालयमा तामाङ समुदायको बाहुल्यता रहेको छ ।

शैक्षिक सामाग्री बितरण कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक जगतबहादुर घले, सहायक प्रध्यानाध्यापक हरिशरण न्यौपाने, शिक्षक निलहरी ढुंगेल, उद्धव बस्नेत, लक्ष्मीदेवी दहाल, दीपक तिमल्सिना, दीपक प्रसाद घिमिरे लगायतकाको उपस्थिती रहेको थियो ।