हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका-९ स्थित खैराङमा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ ।

डन्टारदेखि कोटेबाङ जोड्ने १२० मिटर लम्बाईको झोलुङ्गे पुलको शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् ।

करिब ५८ लाख लागतमा निर्माण हुने झोलुङ्गे पुल अबको ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । झोलुङ्गे पुलको शिलान्यास गर्दै राज्यमन्त्री प्रजाले विकट गाउँको विकासमा स्थानीय र प्रदेश सरकार जागरुक बनेको बताए । मुलुकको विकासमा कांग्रेस नै अपरिहार्य रहेको आम नागरिकले महसुस गरिसकेको भन्दै अबको स्थानीय तहको निर्वाचनमा हरेक ठाउँमा कांग्रेसलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।

डन्टार कोटेबाङ झोलुङ्गे पुल उपभोक्ता समितिका अध्यक्ष केशव प्रजाको अध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, राक्सिराङ-९ का अध्यक्ष रामकुमार वाल्पा थिङ, पुल निर्माणमा प्राविधक तथा सामाजिक सहयोग गर्ने राडो नेपालका प्रतिनिधि राजन दाहाल, कांग्रेस ९ नम्बर वडा सभापति शिवकुमार मल्ललगायतकाको आतिथ्यता रहेको थियो ।