हेटौंडा । यौन दुर्व्यवहार आरोप लागेका बागमती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीनै जना शिक्षक पक्राउ परेका छन ।

यसअघि चैत २५ गते एक शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आएका थिए । शुक्रबार साँझ प्रहरीले थप २ जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनले गएराति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक दुबैलाई जिल्ला प्रहरी कार्यालय हेटौंडा ल्याईएको बताए । प्रवक्ता कार्की अनुसार पक्राउ परेका तीनै जना शिक्षकहरुमाथि आवश्यक अनुसन्धान भईरहेको छ । जनताका तीन जना शिक्षकहरुले लामो समयदेखि छात्रा विद्यार्थीहरु माथि यौन दुव्र्यवहार गरेको र विद्यालयमा निवेदन दिँदा समेत आवश्यक कारबाही नभएको भन्दै चैत्र २२ गते विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए ।

शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको छात्रा विद्यार्थीहरुको आरोप छ । निवेदनमा छलफल गर्न चैत्र २२ गते मंगलबार विद्यालय परिसरमा विद्यालय,अभिभावक,विद्यालय व्यवस्थापन,राजनीतिक दलका प्रतिनिधिहरु बीच बैठक बसेको थियो । बैठकमा भएको छलफलमा चित्त नबुझेपछि विद्यार्थीहरुले विद्यालय तोडफोड गरेका थिए । चैत्र २४ गते राति तीन जना शिक्षक विरुद्ध विद्यालयमा अध्यनरत विद्यार्थीका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालयमा यौन दुव्र्यवहारको किटानी जाहेरी दिएका दिए ।