हेटौंडा । तराई–मधेस द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गराउन आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने भएको छ ।

काठमाडौं–तराई–मधेस द्रुतमार्गको अवलोकन भ्रमणसमेत गरेको राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप एक खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने भएको हो । समितिको बसेको बैठकपछि समिति सभापति रामनारायण विडारीले द्रुतमार्ग सम्पन्न गर्नका लागि हालसम्म खर्च भइसकेको बाहेक थप एक खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने देखिएको र त्यति रकमको स्रोत सुनिश्चित नहुञ्जेल काम अगाडि बढेमा काममा अवरोध हुने भएकाले रकम सुनिश्चितताका लागि सरकारका सम्बन्धित सरोकारवाला मन्त्रालयसँग छलफल गरिने बताए ।

उनले भने, “यसलाई २०८१ सालसम्ममा सम्पन्न गर्ने नेपाल सरकारको नीति र उद्देश्य छ । तर अहिलेको काम गराइको ढाँचालाई हेर्दा र हाम्रो समितिले स्थलगत निरीक्षण गर्दा त्यो २०८१ मा सक्ने कुरामा शंका उत्पन्न भएको हुनाले सम्बन्धित मन्त्रालय, खासगरी वन मन्त्रालय, भौतिक तथा पूर्वाधार निर्माण मन्त्रालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालयलगायतका मन्त्रालयसहित मन्त्रिपरिषद् सचिवालयका सचिवसँग छलफल गरियो । यसबाट के देखियो भने, यो आयोजना सम्पन्न गर्न अहिले जति खर्च भइसक्यो त्यो खर्च बाहेक अब एक खर्ब ७५ अर्ब खर्च फेरि चाहिने कुरा रहेछ । त्यो रकमको स्रोत सुनिश्चित नहुञ्जेलसम्म ठेक्कापट्टा लगाउने काम र कार्य अगाडि बढाउने काममा अवरोध हुन्छ ।”

उनले विभिन्न मन्त्रालयबीच समन्वय नभएका कारण काम गर्न ढिलाइ भइरहेको भन्दै मन्त्रालयबीचमा समन्वय बढाई काम सम्पन्न गराउने विषयमा पनि सम्बन्धित मन्त्रालयसँग छलफल गरी समितिले आगामी दिनमा निर्देशन दिने बताए ।

साभारः कारोवार दैनिक