हेटौंडा । नेपाल ट्रक यातायात व्यवसायी महासंघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई सात दिनभित्र ट्रकको समस्या समाधान गर्न अल्टिमेटम दिएका छन् ।

मंगलबार ज्ञापन पत्र बुझाउँदै संघले इन्धन मूल्यसँगै भाडा नबढ्दा ट्रक चलाउनै नसकिने भएको जनाएको छ । ७ दिनभित्र मूल्य समायोजन नभए ट्रक ग्यारेजमा थन्काउने चेतावनी दिइएको छ ।

वैज्ञानिक प्रणालीका आधारमा भाडावृद्धि गर्न सरकारले ट्रक व्यवसायीसँग सम्झौता गरे अनुसार ५ रुपैयाँ इन्धनको मूल्य बढ्दा भाडा बढाउने सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै ५ माग राखिएको छ ।

१. भाडा वृद्धि गरौँः इन्धनको मूल्य १ सय ४ रुपैयाँ हुँदा बढेको भाढा इन्धनको मूल्य १ सय ३३ रुपैयाँ पुग्दा पनि नबढ्दा यातायात सञ्चालनमै समस्या परेको छ ।
२. भारतीय र चिनियाँ सवारीसाधन रोकौँः मुलुकलाई चाहिने भन्दा बढी ट्रक हुँदाहुँदै पनि भारतीय गाडीहरु निर्वाध आइरहेका छन् र कानुनले तोकेभन्दा बढी भारवहन गरिरहेका छन् । नेपाली ट्रक भारतमा ५ किलोमिटर परसम्म जाँदा पनि प्रवेशका लागि दुतावासको सिफारिस लगायतको भण्झट रहेको छ । व्यवसाय धरासायी बनेको छ । तातोपानी नाका हुँदै ठूला कन्टेनर नेपाल प्रवेश गर्दा त्यसक्षेत्रका नेपाली कन्टेनर व्यवसायी मारमा परेका छन् ।
३. भारतमा इन्धन तस्करी रोकौँः भारतीय सीमा क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी भइरहेको छ । भारतीय ट्रकले नै नेपालमा समान झारेर फर्कँदा इन्धन लैजाने गरेको छ र कतिपय ठाउँमा ट्यांकरमै इन्धन भरेर भारत लैजाने गरिएको छ ।
४. थोत्रा ट्रक डम्पिङ भयोः भारतमा थोत्रो भएका ट्रकहरु नेपालको सीमा बजारमा ल्याएर चलाइने गरिएकाले नेपाल भारतको थोत्रो ट्रक डम्पिङ साइट बन्दै गएको छ । यसलाई समयमै रोकिनु पर्छ ।
५. पार्किङस्थल बनाउँः मुख्य राजमार्गमा पार्किङ स्थल नबनेकाले दुर्घटना बढेका छन् । ५० किलोमिटरको दूरीमा पार्किङ वे व्यवस्था गरौँ ।