हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले कोरोना र क्षयरोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागे परीक्षण गर्न आग्रह गरेका छन् ।

विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै उनले पछिल्लो समय विश्वभर फैलिएको कोरोना र क्षयरोग दुबैले फोक्सोमा असर गर्ने र दुबै रोगका लक्षण मिल्दाजुल्दा भएकाले शंका लागेमा कोरोनासंगै क्षयरोगको परीक्षणका लागि आग्रह गरेका हुन् । बागमती प्रदेश सरकारले रोगहरुको पहिचानका लागि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकोले यसबाट समेत क्षयरोगको बेलैमा पहिचानमा मद्धत पुग्ने जनाउँदै मन्त्री लामाले क्षयरोगको उपचार सेवा तथा औषधि निःशुल्क रहेकाले बेलैमा यसको पहिचान गरी उपचारमा लाग्न हुन प्रदेशबासीमा अनुरोध गरेका छन् ।

धुम्रपान मध्यपान नगर्ने, पोषणयुक्त खानेकुरा खाने, बालबालिकालाई तोकिएको समयमा बीसीजीको खोप लगाउने र रोगको संक्रमण अरुमा फैलिन नदिन प्रदेशका सबै नागरिक सचेत रहनु जरुरी रहेको उनको भनाई छ । “क्षयरोग अन्त्यका लागि लगानी गरौं, जीवन बचाऔं” भन्ने नाराका साथ विश्व क्षयरोग दिवस २०२२ विहिबार मनाईँदैछ । नेपालमा सन् २०१८/१९ मा सम्पन्न क्षयरोग प्रिवालेन्स सर्वेक्षण अनुसार अनुमानित ६८,००० जना नयाँ क्षयरोगका बिरामीहरु रहेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा वार्षिक करीव २७,२३२ जना विरामी रोग पत्ता लागेर उपचारमा आएका छन् । दशकौं पश्चात क्षयरोगका कारण मृत्युदर सन् २०२० मा आएर बढ्दै गएको छ । नेपालमा घातक रोगहरुका कारण मृत्यु हुनेमा क्षयरोग सातौं घातक रोग रहेको छ ।

क्षयरोग सक्रिय नरहे तापनि निष्कृय रहेको हुन सक्ने भएकोले नेपालमा निष्कृय क्षयरोग भएका १०० मध्ये १५ जना व्यक्तिलाई भविष्यमा क्षयरोग सक्रिय हुन सक्ने देखिएको चिकित्सकको भनाइ छ । विशेषगरी रगत, खकार, छाला परीक्षणबाट सक्रिय क्षयरोगको कीटाणुको अवस्थाबारे पत्ता लाग्ने गर्दछ । त्यसैले लगातार खोकी लाग्ने तथा खोकीमा रगत देखिने, अस्वभाविक रुपमा शरीरको वजन घट्ने, फोक्सोमा पिडा महशुस हुने, ज्वरो आउने जस्ता लक्षण देखिएमा परीक्षण गर्न मन्त्री लामाले अनुरोध गरेका छन् । श्वासप्रश्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एच.आई.भी, मृगौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीहरुलाई छिटो लाग्न सक्ने गरेको छ ।

दिवसको अवसरमा मन्त्री लामाको प्रमुख आतिथ्यतामा हेटौंडामा सचेतनामुलक प्रभातफेरी भएको थियो ।