हेटौंडा । जिल्ला निर्वाचन व्यवस्थापन समितिले मतदान स्थलको भौगोलिक अवस्थाको विश्लेषण गरी गृह मन्त्रालय पठाएको प्रतिवेदन स्वीकृत भएसँगै जिल्लामा मतदान स्थलको निक्यौल भएको हो ।

मन्त्रालयमा पठाइएको प्रतिवेदन अनुसार सुरक्षाका दृष्टिकोणले मकवानपुरका १० वटा स्थानीय तहका १६५ मतदानस्थल मध्ये राक्सिराङ्, हेटौंडा, बागमती, बकैयाका केही मतदानस्थल अति संवेदनशील सूचीमा समावेश रहेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

राक्सिराङ गाउँपालिकाका ९ वडामा १९ वटा मतदानस्थलमा २१ मत केन्द्र छन् । भौगोलिक विकटता तथा सुरक्षाका हिसाबले ती मतदान केन्द्रहरू अति संवेदनशील क्षेत्रमा वर्गीकरण गरिएको छ ।

स्थानीय तहको निर्वाचका लागि मकवानपुरको एक मतदानस्थल सारिएको छ भने एक मतदान स्थल थपिएको छ । हेटौंडा–४ को बासुदेव सभागृहको मतदानमा रहेको मतदान स्थललाई हेटौंडा–४ भूटनदेवी माध्यमिक विद्यालयमा सारिएको छ । सभागृह भत्काउने कार्य भएकाले केन्द्र सारिएको हो ।

मनहरी गाउपालिका –६ मा एउटा मतदानस्थल थप भएको छ । भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा मतदानस्थल थपिएको हो । योसंगै मकवानपुरमा मतदानस्थलको संख्या १६५ पुगेको छ । यसअघि मकवानपुरमा १६४ वटा मतदानस्थल कायम थियो । यसअघि २९५ मतदान केन्द्र थियो । मकवानपुरमा करिब ४० हजार मतदाता थपिएका छन् । जिल्लामा मतदाताको संख्या २ लाख ९५ हजार ५५० पुगेको छ ।

२०७४ सालको निर्वाचनमा मकवानपुरमा २ लाख ५५ हजार ६०४ जना मतदाता थिए । बागमती प्रदेशको एकमात्र हेटौंडा उपमहानगरपालिकामा एक लाख चार हजार ५१३ मतदाता रहेका छन् भने जिल्लाको सबैभन्दा सानो इन्द्रसरोवरमा १२ हजार ४९५ मतदाता रहेका छन् ।

यसैगरी कैलाश गाउँपालिकामा १४ हजार ६२०, थाहा नगरपालिकामा ३२ हजार ३१६, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९० मतदाता रहेका छन भने भीमफेदीमा १७ हजार ४४७, मकवानपुरगढीमा– १९ हजार १५०, मनहरीमा २६ हजार ७५१ र राक्सिराङमा १५ हजार ८७३ मतदाता रहेका छन् ।

जिल्लाभित्र १० वटा स्थानीय तहमा १६५ वटा मतदानस्थल र ३५६ वटा मतदान केन्द्रहरू कायम गरिएको छ । १६५ वटा मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा सामान्य रहेको प्रजिअ पाण्डेले जानकारी दिए ।
साभार अनलाइन खबर