हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ बाट सांसद्का लागि १० जना आकांक्षीको नाम सिफारिस भएको छ ।

सोमबार पार्टी कार्यालयमा भएको नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ समितिको बैठकले आकांक्षीहरु १० जनाको नाम जिल्ला समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कांग्रेसबाट प्रदेश सांसद्को लागि पार्टी सभापति बुद्ध लामासहित नेताहरु आनन्दराम पराजुली, प्रभातकुमार दाहाल, अशोक शाक्य, इश्वर पाठक, ताराप्रसाद चौलागाई, अर्जुनप्रसाद चौलागाई, होमनाथ गौतम, अञ्जना उपाध्याय र शर्मिला श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय भएको छ ।

यस्तै समानुपातिकतर्फ लक्ष्मी श्रेष्ठ, लक्ष्मी थिङ, तारा राई कार्की, इन्दिरा न्यौपाने, शम्भु लामा, रमेश गिरी र निलम देवकोटाको नाम सिफारिस भएको छ । गठबन्धन हुँदा पनि यो क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने भएकोले दावेदारहरु बढी भएको कांग्रेस नेताहरुको भनाई छ ।

जिल्लास्थित प्रदेश क्षेत्र समितिहरुले भदौ १६ भित्र आकांक्षीहरुको नाम जिल्ला समितिमा सिफारिस गरिसक्नुपर्नेछ । प्रतिनिधिसभा क्षेत्रका समितिहरुले १८ गतेभित्र आकांक्षीहरुको नाम सिफारिस गरेपछि जिल्ला समितिले २० गते प्रदेश समितिमा पठाइसक्नुपर्ने बताइएको छ ।

कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ सभापति राजेश बानियाँको अध्यक्षतामा बैठक बसेको हो । हेटौंडा उपमहानगरपालिकाको १२ वटा वडा यस क्षेत्रमा पर्दछ ।

अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसका अशोक शाक्यलाई हराउँदै नेकपा एमालेका डोरमणि पौडेल निर्वाचित भएका थिए ।