हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध नाइट्रोभेट ११७ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ ।

हेटौंडाका विभिन्न स्थानबाट लागुऔषध नाइट्रोभेटसहित २ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । प्रहरी टोलीले हेटौंडा–४ मा सवारीसाधनहरु रोकी सुरक्षाजाँच गर्दा भुटनदेवी मोडतर्फबाट शितलमहल चोकतर्फ जाँदै गरेको गरेको बा २४ प ४५९५ को मोटरसाईकलका चालक हेटौंडा–४ का ३४ वर्षीय अनिल कुमार तामाङलाई नाईट्रोभेट ४८ ट्याब्लेटसहित पक्राउ गरेको थियो ।

यस्तै प्रहरी टोलीले हेटौंडा–१० बसपार्कबाट बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२२ का २३ वर्षीय अनिष तामाङलाई सुरक्षाजाँच गर्दा नाईट्रोभेट ६९ ट्याब्लेट फेला पारी नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला अदालत मकवानपुरबाट दिन ५ को म्याद थप गरि आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।