हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा एक जनाको निधन भएको छ । दुर्घटनामा हेटौंडा–१ चाइनाक्वाटर निवासी अर्जुनप्रसाद घिमिरेको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सोमबार दिउँसो बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्बरको बसले हेटौंडा बजारबाट पशुपतिनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौडा–१ चाईना क्वाटर बस्ने अन्दाजी ४० बर्षीय घिमिरेको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका घिमिरेको हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक भने फरार भएका छन् ।