हेटौंडा । सरकारले जारी गरेको संघीय वन ऐन र बागमती प्रदेशले जारी गरेको प्रदेश वन ऐन संसोधन नभए सम्म महासंघले गरिरहेको आन्दोलन जारीरहने सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताएकी छिन ।

सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेश र जिल्ला शाखा मकवानपुरले सञ्चालन गरिरहेको बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालय, हेटौडामा भएको एक घण्टे धर्ना कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष पाठकले सामुदायिक वनको अधिकार माथि अंकुश लगाउने वन ऐन खारेज गर्नु पर्नेमा जोड दिएकी हुन । स्थानीय उपभोक्ताहरुले संरक्षण गरि हराभरा बनाएको सामुदायिक वन माथि वनमाफियाहरुलाई फाईदा पुग्ने गरि वन ऐन संसोधन गरेको बताउँदै अध्यक्ष पाठकले समुदायको हक र अधिकारलाई कुण्ठित बनाउनुको साथै सामुदायिक वनलाई तेहेरो कर लगाएर सरकार समुदायमाथि दोष थोपार्न क्रियाशिल रहेको बताईन ।

अध्यक्ष पाठकले सरकारले वन ऐन संसोधन नगरसम्म आन्दोलन जारीरहने र महासंघको फागुन ८ र ९ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकले तेश्रो चरणको आन्दोलनको घोषण गर्ने बताईन । बागमती प्रदेशको वन ऐन २०७६ को संसोधन, तेहेरो कर खारेजी र वन संरक्षण क्षेत्र खारेजी लगायतको माग गर्दै महासंघले माघ १७ गतेदेखि बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा हेटौडामा एक घण्टा धर्ना दिदै आएको छ ।

धर्ना कार्यक्रममा फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, सदस्य अर्जुन प्रसाद दाहाल, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, चनौटा सामुदायिक वनका अध्यक्ष हरिशरण पौडेल, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, विभिन्न सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता थियो । कोरोनाका कारण महासंघले भौतिक दुरी कायम गरि कार्यक्रम गरेको थियो । विरोध कार्यक्रम अन्तरगत माघ २८ गते सम्म जारीरहने र माग पूरा नभए तेश्रो चरणको कार्यक्रम घोषणा गर्ने महासंघको योजना छ ।