हेटौंडा । नेपाल चेपाङ संघ र राष्ट्रिय जनवकालत मञ्च नेपालको आयोजनामा चेपाङ संरक्षित क्षेत्रको विषयमा आइतबार अन्तरक्रिया कार्यक्रम भएको छ । चितवनको मुग्लिनमा भएको कार्यक्रममा चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग पहल गर्ने विषयमा बहस गरिएको थियो ।

नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा चेपाङ विशेष क्षेत्र घोषणाको आवश्यकता, विशेष क्षेत्र घोषणाको आधारलगायतको बारेमा बहस भएको थियो । सम्बन्धित क्षेत्रमा बसोबास गरिरहेका समुदायको नागरिक तथा आर्थिक अधिकार एवम् आर्थिक सामाजिक सांस्कृतिक अधिकार सुनिश्चित गर्दै राज्यको लगानी बढाउन संरक्षित क्षेत्र घोषणा आवश्यक रहेको कार्यकममा सहभागीले औंल्याएका थिए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले चेपाङ विशेष क्षेत्र घोषणा गर्न आफूले सरकारी तहमा पहल गर्ने प्रतिवद्धता जनाए । चेपाङ समुदायको उत्थान र विकासमा आफू प्रतिवद्ध रहेको उनले बताए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष जगत बराम, मानव अधिकार आयोग बागमती प्रदेश अध्यक्ष यज्ञ अधिकारी, अधिकृत किरण बराम, नेपाल चेपाङ संघका वरिष्ठ उपाध्यक्ष सुनिमाया चेपाङ, केन्द्रीय सदस्य खेम चेपाङ, बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, आदिवासी जनजाति उत्थान प्रतिष्ठानका प्रतिनिधि अजय कुमार चेपाङलगायतको आतिथ्यता रहेको थियो ।