हेटौंडा । बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले अहिलेको विकास संघीयताको देन भएको बताएकी छिन् । शनिबार थाहा नगरपालिका–८ मा भएको नेकपा माओवादी केन्द्र वडा न ८ को वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयता आएसँगै विकासको काम धमाधम भइरहेको दाबी गरिन् ।

मन्त्री मोक्तानले थाहाको दामगाडे, आग्रा, महादेवबेसी सडक आयोजना यसैको उदाहरण भएको जिकिर गर्दै ९९ सय करोडको यो आयोजना पूरा भएपछि यस क्षेत्रको सर्वाङ्गीण विकास हुनेमा विश्वास व्यक्त गरिन् ।

नेकपा माओवादी केन्द्र वडा नं. ८ का उपाध्यक्ष डम्बर बहादुर रुम्बाको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्र थाहा नगर इन्चार्ज तथा पुर्व नगर प्रमुख लवशेर बिष्ट, नगर प्रमुख विष्णु बिष्ट, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा, अखिल नेपाल महिला संघ क्रान्तिकारीका नगर अध्यक्ष शकुन्तला गोपाली, माओवादी केन्द्रका जिल्ला समन्वय समित सदस्य अरुण रायमाझी, टिकाराम रुम्बा, सनमसिंह स्याङ्तान लगायतकाले शुभकामना दिएका थिए ।

सम्मेलनमा वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वाईसीएल थाहाका दिपेन्द्र कुमार थिङ लगायतका माओवादी नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । सम्मेलनमा नेकपा एमाले परित्याग गरि ३ जना माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रका नगर उपाध्यक्ष सुमन कार्कीले जानकारी दिए ।

वडा भेलाले राजकुमार थिङ सुवासको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटी समेत गठन गरेको छ । कमिटीको उपाध्यक्षमा डम्बर बहादुर रुम्बा र कृष्ण बहादुर सापकोटा, सचिव राममणि कार्की,सहसचिव मणिकलाल घलान र कोषाध्यक्षमा लक्ष्मी कार्की चयन भएका छन ।