
हेटाैँडा । बागमती प्रदेश सभाको बैठक ६ साउनको दिउँसो १ बजेका लागि आह्वान गरिएको छ। प्रदेश सभा सचिवालयका अनुसार सभामुख भुवन पाठकले ६ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेका हुन्।
सो बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिनेछन्। सत्तासाझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले जम्कट्टेलले विश्वासको मत लिन लागेका हुन्।
माओवादीसँगको सत्तागठबन्धन त्यागेर केन्द्रमा एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धन बनाएको छ। सोही गठबन्धनले केन्द्रमा सरकारसमेत निर्माण गरिसकेको छ। सोही कारण प्रदेशमा माओवादी नेतृत्वको सरकारबाट एमाले बाहिरिएको हो।
६ साउनको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले सत्तासाझेदार दलहरू एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीसँग विश्वासको मतका सम्बन्धमा छलफल गरेका थिए। पटक-पटक सत्तासमीकरण र गठबन्धन परिवर्तन हुँदा सत्ता जोगाउँदै आएका जम्कट्टेलले यसपटक भने सरकारको नेतृत्व गुमाउने निश्चित देखिएको छ।
एक सय १० सदस्यीय सभामा जम्कट्टेलसँग माओवादीका २१, एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका दुई गरी ३० सांसदको मात्र समर्थन छ। सरकार बनाउन बागमतीमा ५६ सांसदको समर्थन आवश्यक छ।
नयाँ गठबन्धन गरेका कांग्रेस र एमालेसँग स्पष्ट बहुमत छ। कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्।
प्रतिक्रिया दिनुहोस्