हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङमा म्याजिकको ठक्करबाट शुक्रवार मोटरसाइकल चालकको मृत्यु भएको छ । म्याजिकको ठक्करबाट हेटौँडा–११ थानाभर्याङका २६ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो ।

गम्भीर घाइते परियारको हेटौँडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनको टाउको र खुट्टामा चोट लागि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्रबार अपरान्ह थानाभर्याङ राप्तिपुल नजिकै नवलपुरबाट हेटौँडा बजार तर्फ जाँदै गरेको ना १५ प ४१५७ नम्बरको मोटरसाइकललाई हेटौँडा बजारबाट नवलपुर तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ज ०२५७ नम्बरको म्याजिकले ठक्कर दिएको थियो ।

दुर्घटना लगत्तै ०२५७ नम्बरको म्याजिक पुनः ना १ ज ८१३१ नम्बरको म्याजिकमा ठोक्किएको प्रहरीले जनाएको छ । उक्त घटनामा सबै सकुशल रहेको र ठक्कर दिने म्याजिक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।