हेटौंडा । बागमती प्रदेश सरकारले सुर्यविनायक नगर अस्पताललाई मेडिकल सामग्री तथा औषधीहरु हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सुर्यविनायक नगरपालिकाद्वारा ८ नम्बर वडास्थित जगातीमा संचालित अस्पताललाई ४५ लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले सबै जनताको स्वास्थ्यमा पहुँच हुनुपर्ने बताए । स्वास्थ्य सामग्रीलाई पारदर्शी किसिमले नागरिकलाई सेवा दिनेगरी सञ्चालन गर्न उनले आग्रह गरे । बिरामीको उपचारमा साना साना सामग्रीले ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्नुपर्नेमा मन्त्री थापाको जोड थियो ।

अस्पतालबाट माग भए बमोजिम बागमती प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपुर्ती व्यबस्थापन केन्द्र हेटौंडाद्वारा सीप्याप मेसिन, बिप्याप मेसिन, हाइ फ्लो नोजल क्यानुला, प्यासेन्ट मनिटर, डेफिब्रीलाटर मेसिन, माइक्रो स्कोप, इसिजी मेसिनलगायत औसधिहरु अस्पतालका प्रमुख डा. राकेश कुमार वर्मालाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा आपुर्ती केन्द्रका निर्देशक बसन्त अधिकारी, मन्त्रालयका महाशाखा प्रमुख एवम् प्रवक्ता डा. खगेश्वर गेलाल लगायत सहभागी थिए ।