हेटौंडा । वाग्मती प्रदेश सरकारले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा रहेको पिन्थलीबाट महाभारत गाउँपालिकाको घर्तीछाप, गोकुले हुँदै हेटौँडा जोड्ने सडकको लागि ५० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको छ ।

प्रदेश राजधानी हेटौँडा जोडिने सडक स्तरोन्नतिका लागि मात्र दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अध्ययनबाट देखिएको छ । डाँडापारि क्षेत्रमा रहेको यो सडक आयोजना क्रमागत बनाइ प्रदेश सरकार तथा सङ्घीय सरकारबाट थप बजेट ल्याउने विषयमा छलफल अघि बढाउने महाभारत गाउँपालिकाको योजना छ । ६४ किलोमिटर लामो यस सडकको पिन्थलीतर्फबाट गाउँपालिकाको केन्द्र घर्तीछापसम्म अर्को बजेटबाट ६७ करोड रुपैयाँ बजेटबाट स्तरोन्नति भइरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

यो सडक मकवानपुरको वाग्मती गाउँपालिकाको केन्द्र जुरजुरेमा रहेको धरान–चतरा (मदन भण्डारी) लोकमार्गमा जोडिनेछ । काभ्रेपलाञ्चोकको दक्षिणीतर्फको महाभारत पर्वत शृङ्खलापारि अवस्थित डाँडापारि क्षेत्रलाई प्रदेश राजधानी हेटौँडासँग जोड्ने पक्की सडक नहुँदा आवतजावतमा सास्ती हुने गरेको छ । जिम्बाले सडक राम्रो भए डाँडापारिका क्षेत्रका मात्र नभइ दोलखा, रामेछाप, सिन्धुपाल्चोकको नागरिकसमेत लाभान्वित हुने बताए ।

यसैबीच, यो सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गर्ने निर्णयपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले काभ्रेपलाञ्चोकबाट हेटौँडा जोड्ने सडकसँगै वाग्मती खोलामा निर्माणाधीन १६५ मिटर लामो पुल तथा महाभारत गाउँपालिकाको घर्तीछापसम्मको सडकको गएको हप्ता निरीक्षण गरेका थिए । ११ करोड रुपैयाँमा सम्झौता भएको पुलको अहिलेको १२ प्रतिशत मात्रै काम भएको छ ।