हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो चुनावी क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गरेका छन ।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले शनिबार एक कार्यक्रमका बिच कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य बानियाँको सम्पर्क कार्यालय उद्घाटन गरेका हुन ।

उपप्रधानमन्त्री सिंहले सम्पर्क कार्यालय उद्घाटन गर्दै जनप्रतिनिधिले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न सहज पहुँच हुने स्थानमा स्थापना गर्न जरुरी रहेको बताए ।

देशमा जवजव जटिल समस्या पर्छ कांग्रेसले नेतृत्व लिएर समाधान गरेको विगतका उदाहरणहरु रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले कांग्रेसको नेतृत्वमा मात्रै विकास र समृद्धि सम्भव भएको बताए ।

कांग्रेस बागमती प्रदेश सभापति एवं प्रदेशसभा सदस्य बानियाँले चुनावको बेला मतदातामाझ गरेको प्रतिवद्धता अनुरुप कार्यालय खोलेको बताए । मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी बजारमा मतदाताको गुनासो सुन्न तथा साझा सम्पर्क थलोको रुपमा विकास गर्न कार्यालय खोलिएको कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँले बताए ।

सम्पर्क कार्यालयमार्फत् मकवानपुर क्षेत्र नम्बर २ ख का मनहरी, राक्सीराङ, कैलाश गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ र १९ का मतदाताले विकास निर्माणलगायतका विषयमा छलफल गर्न सक्नेछन् ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, कांग्रेस बागमती प्रदेश सदस्यद्वय सन्त चेपाङ र जानुका लामा, कांग्रेस प्रदेश क्षेत्रीय सभापति एवं मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, मनहरी ७ का वडाअध्यक्ष ठाकुर तितुङलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।