हेटाैँडा । एकैछिनमा हाटबजारमा कोदोको सेल र फापरको फुरौला बिक्री भयो । बिक्री भएकोमा उनी खुसी छिनन् । घरमा सेल र फुरौला पकाएर उनले चैनपुरको हाटमा ल्याएकी थिइन । हाटबजारमा सेल र फुरौला बिक्री हुन एक घन्टा पनि लागेन ।
सेल र फुरौला बिक्री गरेर सावित्री चेपाङले ७ सय रुपैयाँ आम्दानी गरिन् । त्यही पैसाले उनले मकैको पिठो,तेल र नुन किनेर लगिन् ।
सावित्रीले आफ्नै बारीमा उत्पादन गरेको कोदो र फापरबाट सेल र फुरौला बनाएकी हुन् । राक्सिराङ गाउँपालिकाले स्थानीय उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले महिनाका १ गते र १५ गते चैनपुरमा हाटबजारको व्यवस्था गरेको छ । हाट बजारमा गाउँमा उत्पादित वस्तुहरूमात्र राख्न पाउने व्यवस्था गरेको छ । राक्सिराङ गाउँपालिका-५ चैनपुरमा सञ्चालन गरिएको हाटबजारको सोमबार एक समारोहबीच सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले चिउरीको बिरुवा रोपेर उदघाटन गरेका थिए ।
उद्घाटन गर्दै श्रेष्ठले हाट बजारले गाँउमा उत्पादित वस्तुहरूले बजार पाउनुको साथै ‘पत्रु खाना’ बिक्री वितरण न्यूनीकरण हुने वताएृ । राक्सिराङ गाउँपालिकाले २०७९ वैशाखदेखि गाउँपालिकाको केन्द्र रहेको चैनपुरमा पन्ध्र दिने हाट बजार लाग्ने व्यवस्था गर्दै आएको थियो । ‘केही महिनादेखि हाटबजारले निरन्तरता पाउन सकेको थिएन, अब निरन्तरता दिने गरी हाटबजारको व्यवस्था गरेका छौँ,’ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।
हाटबजारमा चिउरीको मह,उसिनेको गिठ्ठा,भ्याकुर, स्थानीयवासीले बनाएको बाँसको डोको, पेरुङ्गो, गेडागुडी पनि राखिएका छन् । प्रत्येक महिनाको १ र १५गते सञ्चालन हुने उक्त हाट बजारमा तामाङ,चेपाङलगायत विभिन्न जातजातिको संस्कृति झल्किने कला प्रस्तुत गर्ने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्