हेटौँडा । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–५ वसन्तपुरमा मानव र खसी–बाख्रा मारेर जङ्गलतिर भागेको बाघलाई नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले मङ्गलवार साँझ बाघलाई डार्ट प्रहार गरी नियन्त्रणमा लिएको मनहरी गाउँपालिका वडा ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।
पुस १४ गते साँझ मनहरी–५ वसन्तपुरमा घर नजिकै बारीमा घाँस काट्न गएको अवस्थामा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको ज्यान गएको थियो भने सोही रात स्थानीय सूर्यबहादुर मोक्तानले पाल्नुभएको सात वटा खसी बाख्रालाई खोरमै मारेर भागेको बाघ सिकार खोज्दै पुनः गाउँ फर्कने क्रममा डार्ट प्रहार गरी नियन्त्रणमा लिइएको हो ।
टाढैबाट गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाउने औषधी लगाउने प्रक्रियालाई डार्ट प्रहार गर्ने भनिन्छ । बाघले मारेको बाख्रालाई बाघ जङ्गलतिर भागेको ठाउँतिर राखेर डार्ट टोली बसेको थियो । चितवन राष्ट्रिय निकुञ्ज तथा पर्सा राष्ट्रिय निकुञ्जका प्राविधिकहरू, नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गर्ने र डार्ट प्रहार गरेर नियन्त्रणमा लिएका थिए ।
बाख्रालाई घिसार्ने क्रममा डार्ट प्रहार गरिएको र केही परमात्रै बाघ बेहोस अवस्थामा फेला परेको वडा अध्यक्ष अधिकारीले बताए । डार्ट गरिएपछि सिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघको खोजी गरिएको थियो । बेहोस अवस्थाको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज कसरा लगिने तयारी गरिएको वडाध्यक्ष अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्