हेटौँडा । मकवानपुरको थाहा नगरको वज्रबाराहीमा यही पुस २८ गतेबाट सुरु हुने तीनदिने थाहा फिल्म फेस्टिभल–२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ।
सिनेमाको माध्यमबाट थाहोको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यसहित पुस २८ गतेदेखि आगामी माघ १ गतेसम्म थाहा कला केन्द्र, मकवानपुरले थाहा फिल्म फेस्टिभलको दोस्रो संस्करण आयोजना गर्न लागेको हो ।
बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा हुने थाहा फिल्म फेस्टिभल अन्तर्गत थाहा नगरपालिका ६ स्थित वज्रबाराही हलमा चलचित्र, लघुचलचित्र र वृत्तचित्र प्रदर्शनी गरिने थाहा फिल्म फेस्टिभल–२०२५ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए । उनका अनुसार फिल्म फेस्टिभलमा प्रदर्शनीका लागि चलचित्र, लघुचलचित्र र वृत्तचित्र गरी २१ वटा चलचित्र छनोट गरिएको छ ।
४७ वटा चलचित्र प्रदर्शनीका लागि प्रस्ताव आएको आयोजकले जनाएको छ । चलचित्र, लघुचलचित्र र वृत्तचित्र निःशुल्क रुपमा हेर्ने व्यवस्था मिलाइएको छ । थाहा कला केन्द्र, मकवानपुरका अध्यक्ष सानोबाबु मुक्तानले थाहा नगरसहित इन्द्रसरोवर गाउँपालिकालाई मिनी फिल्म सिटीको रुपमा विकास गर्न सहयोग पुर्याउने उद्देश्यसहित फिल्म फेस्टिभल आयोजना गरिएको जानकारी दिए । उनका अनुसार सो अवसरमा थाहा नगरको पर्यटन प्रवर्धनका लागि बनाइएका वृत्तचित्रसँगै थाहा नगरमा छायाङ्कन गरिएको सिनेमाहरु फेस्टिभल अवधिमा प्रदर्शनी गरिने भएको छ ।
फिल्म सेमिनार, थाहा नगरलाई मिनी फिल्म सिटी बनाउने, फिल्मको समिक्षाका बारेमा अभिमुखीकरण तालिम दिने कार्यक्रम रहेको सुनाउँदै अध्यक्ष मुक्तानले भन्नुभयो, “थाहा नगरमा सिनेमा छायाङ्कन गर्ने सिनेमाका टिमलाई सम्मान गर्ने कार्यक्रम छ ।”
यस्तै मोदीवेनी, सतिदेवी, लाखे, पखेटा, बाटो र टुल्की चलचित्र प्रदर्शनी गरिने भएको छ । गत वर्ष पहिलो संस्करण मङ्सिर ९ गतेदेखि १५ गतेसम्म गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्