हेटौँडा । हेटौँडा १२ मा अध्यक्षकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । माघ १६ देखि १९ गतेसम्म प्रथम हेटौंडा–१२ वडा अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

हेटौँडा–१२ खेलकुद विकास समितिको आयोजना, हेटौँडा–१२ नम्बर वडाको सहयोग तथा नारायणी कलेजको मुख्य प्रायोजनमा प्रतियोगिता हुन लागेको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रतियोगिता संयोजक मनोज लामाले भलिबल खेलको विकास, विस्तार, प्रवद्र्धनका साथै खेलाडीबीच सद्भाव बढाउने उद्धेश्यले खेल आयोजना गर्न लागिएको जानकारी दिए । हेटौँडा–१२ स्थित बुद्ध मावि हात्तीगौंडामा हुने खेलमा नगरका १९ वटै वडाबाट खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् ।

खेललाई स्तरीय बनाउन प्रत्येक टिमले आफ्नो वडाबाहिरका कम्तिमा ३ खेलाडी समावेश गराउन सक्ने आयोजकले जनाएको छ । प्रत्येक टिममा १६ जना खेलाडीसाथ १÷१ जना टिम प्रशिक्षक र टिम मेनेजर गरी जम्मा १४ जना सहभागी हुन पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, द्वितीय हुनेलाई ३० हजार नगद पुरस्कार राशि व्यवस्था छ ।