हेटाैँडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाको वैकुण्ठमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्ष २०८२ को सुरुसँगै मकवानपुर, धादिङ र चितवनका पर्यटकको यहाँ घुइँचो लागेको हो ।

प्राकृतिक मनोरम दृश्यले भरिपूर्ण कैलाश गाउँपालिका–२ स्थित कैलाश–वैकुण्ठमा पर्यटकको बाक्लो उपस्थिति रहेको थियो । अग्लो डाँडाबाट दृश्यावलोकन, चिसो हावापानी र मनोरम वातावरणले यहाँ पुग्नेलाई अलौकिक अनुभूति महसुस हुन्छ ।

कैलाश–२ का वडाध्यक्ष राजेन्द्र घिसिङका अनुसार धादिङ, मकवानपुर र चितवनबाट यहाँ आन्तरिक पर्यटक घुम्न आउने गर्छन् । नयाँ वर्षको पहिलो दिन सोमबार मात्रै वैकुण्ठमा करिब एक हजार पाँच सय जनाले अवलोकन गरेको वडाध्यक्ष घिसिङले जानकारी दिए।

नयाँ वर्षकै दिन स्थानीय सरकारको लगानीमा निर्मित कैलाश–बैकुण्ठ जीपलाइनको उद्घाटनसमेत गरिएको छ । कैलाश गाउँपालिकाको करिब ८८ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको एक हजार दुइसय मिटर लामो जीपलाइनको सोमबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले उद्घाटन गरेका हुन् ।

कैलाश गाउँपालिका–२ नम्बर वडाको बैकुण्ठ डाँडामा रहेको स्टेशनबाट चढेर कैलाश डाँडासम्म जीपलाइनमा यात्रा गर्न गर्न सकिन्छ । कैलाश गाउँपालिकाको नामाकरण भएको कैलाश डाँडा र बैकुण्ठ डाँडा ऐतिहासिक र धार्मिक महत्व बोकेको ठाउँ हो । धादिङ जिल्लाको सिमानामा रहेको बैकुण्ठमा पछिल्लो समय गाउँपालिका र प्रदेश सरकारलेसमेत पर्यटन संरचना निर्माणमा चासो दिइरहेका छन् ।

बैकुण्ठ–कैलाश जीपलाइन सञ्चालनमा आएसँगै यहाँ पर्यटकको आवागमन झनै बढ्ने गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले विश्वास व्यक्त गरे । बैकुण्ठसम्म पुग्ने सडक सुधारका साथै होमस्टे सञ्चालन र अन्य संरचना निर्माण गर्न गाउँपालिका लागिपरेको अध्यक्ष मुक्तानले बताए । प्रदेश र संघीय सरकारसँगसमेत समन्वय गरी सडक पूर्वाधार सुधार गर्ने र पर्यटक आवागमन वृद्धि गरी गाउँको विकास गरिने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाए ।

०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्या निर्माण सेवासँग ८८ लाख ५६ हजार ७ सात ६१ रुपैयाँमा ०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्नेगरी जीपलाइन निर्माणको ठेक्का सम्झौता भएको थियो । जीपलाइनको अघिल्लो आर्थिक वर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाकिँ काम यसवर्ष सकिएको हो ।

जीपलाइन उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले कैलाश बैकुण्ठलाई ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा चिनाउनको लागि आफूहरु निरन्तर लागिरहेको बताए । मनोरम प्राकृतिक वातावरण भएको बैकुण्ठमा नयाँ पर्यटकीय संरचना थप गर्दै स्वदेशी तथा विदेशी पर्यटक भित्र्याएर कैलाशले आम्दानी लिनुपर्ने उनको भनाइ थियो ।

जीपलाइन सञ्चालन भएसँगै धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीको गन्तव्य स्थल रहने विश्वास लिइएको छ । धादिङ सँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको छ ।

बैकुण्ठमा जीपलाइन सँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् । प्राकृतिक सौन्दर्यता, हावापानी र धार्मिक तथा पर्यटकीय महत्वका विभिन्न स्थल रहेको मकवानपुरको बैकुण्ठ नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाइरहेको छ । स्थानीय सरकारले बैकुण्ठलाई पर्यटकीय क्षेत्र बनाउनको लागि चासोका साथ लगानी गरेसँगै यहाँ आकर्षक पार्कहरु, गुम्बालगायतका संरचना निर्माण भइसकेका छन् । धादिङ, मकवानपुर र चितवनबाट घुम्न आउने पर्यटकहरुको संख्या पनि बढ्दो छ ।

बैकुण्ठबाट कैलाश गाउँपालिकाको अधिकांश वडाको अवलोकन गर्न सकिन्छ । ऐतिहासिक विष्णुकुण्ड, गुफा, तामाङ जातिको परम्परागत सांस्कृतिक सम्पदा रहेका कारण पर्यटकीय हिसाबले बैकुण्ठ निकै महत्वपूर्ण मानिएको गाउँपालिकाका २ नम्बर वडाध्यक्ष राजेन्द्र घिसिङले बताए । कैलाश बैकुण्ठको पर्यटकीय विकासका लागि गाउँपालिकाका साथै बागमती प्रदेश सरकारले समेत लगानी गरेको छ ।
बैकुण्ठमा केही वर्षअघि निर्माण गरिएको डाँफे मुनाल पार्कले सबैको ध्यान खिचिरहेको छ । चारैतिर हिमाल र पहाडको दृश्य देखिने अग्लो पहाडको टुप्पामा निर्माण गरिएको डाँफे र मुनालको आकर्षक प्रतिमाले सबैको मन लोभ्याउने गरेको छ ।

डाँफे मुनाल पार्ककै मुनिपट्टी आकर्षक विष्णुकुण्ड छ । अग्लो डाँडाको समथल ठाउँमा सधैँ पानी जमिरहने पोखरीलाई विष्णुकुण्डको नाम दिइएको छ । विष्णुकुण्डलाई संरक्षण गर्दै कुण्डको बीचमा राखिएको वौद्ध धर्मका धर्मगुरु पद्मसम्भवको आकर्षक मूर्तिले पनि पर्यटकलाई उत्तिकै लोभ्याउने गरेको छ ।

डाँफे मुनाल पार्कसँगै बैकुण्ठ गाउँ सतिघाट संरक्षण स्थल पनि निर्माण गरिएको छ । करिब चार सय वर्षअघि बैकु्ण्ठमा मानव बस्ती बसाल्ने सुर्ज मोक्तानको कान्छी पत्नी केमालोमा मोक्तानले पतिको मृत्युपछि सति गई चिहान बनाइएको ठाउँलाई संरक्षण गरी सतिघाट निर्माण गरिएको वडाध्यक्ष घिसिङको भनाइ छ । डाँफे मुनाल पार्क नजिकैको डाँडामा आकर्षक डम्फूपार्क, चितुवापार्क र टुङ्गा पार्क निर्माण गरिएको छ । पर्यटनका लागि आवश्यक धेरै संरचनाहरु बनाइसकिएको र अब पर्यटकको आवासको लागि व्यवस्थित होमस्टे स्थापना गरिने योजना रहेको वडाध्यक्ष घिसिङले बताए ।

मकवानपुरको पर्यटकीय नगरी पालुङबाट करिब ३ घण्टाको कच्ची सडकको यात्रापछि कैलाशको बैकुण्ठ पुग्न सकिन्छ । त्यस्तै धादिङ जिल्लाको मलेखु र आदमघाटबाट पनि बैकुण्ठ पुग्ने सडक बनिसकेको छ । राक्सिराङ गाउँपालिकाको खैराङबाट पनि बैकुण्ठसम्म पुग्न सकिनेगरी सडक निर्माण भइसकेको छ । हिउँदयाममा मकवानपुरको मनहरीबाट करिब साढे २ घण्टामै बैकुण्ठडाँडा पुग्न सकिन्छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठबाट धादिङ, गोरखा र रसुवाका हिमालहरुको आकर्षक दृश्य देख्न सकिन्छ ।

Visited 22 times, 1 visit(s) today