हेटाैँडा । मकवानपुर प्रहरीले  खैरो हेरोइनसहित हेटौंडाबाट २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-५ का २० वर्षीय करण राय र २९ वर्षका उपेन्द्र रायभर रहेका छन् । प्रहरीले उनीहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम खैरो हेरोइन फेला पारेको छ ।

प्रहरी चौकी रातोमाटेको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ मा चेकिङका क्रममा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको बसमा आएका उनीहरुलाई शंकाको आधारमा खानतलासी गर्दा खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरूले बोकेको झोला भित्र रहेको भिभो लेखिएको चार्जरभित्र लुकाएर ल्याएको अवस्थामा खैरो हेरोइन फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । राय र रायभर दुवैलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको अर्यालले बताए ।

Visited 249 times, 1 visit(s) today