काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि दुई दिन तोकेको छ । आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्तागर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ ।

स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीहरुले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचार संहितामा गरिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार १२ गते उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित हुनेछ भने १३ गते दावी विरोधको समय निर्धारण गरिएको छ । १४ र १५ गते त्यो दावीविरोध उपर निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

१७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ 
त्यसपछि निर्वाचन प्रचारप्रसारको काम उम्मेदवारहरुले सुरु गर्ने समय निर्धारण गरिएको आयोगका प्रवक्ता पौडेलले बताए । अर्थात उम्मेदवारले औपचारिक रुपमा निर्वाचन प्रचारका लागि ११ दिनको समय पाउने छन् । किनकी ३० गते मतदान हुने भएपनि मौन अवधि २७ गते मध्य रातिबाट लागू हुनेछ ।

राजनीतिक दल र सरोकारवाला निकायहरुको परामर्शमै उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान राखिएको आयोगका प्रवक्ता पौडेलले बताए । स्थानीय तहमा बहालवाला पदाधिकारीहरुले पदीय हैसियत दूरुपयोग गरेर निर्वाचनलाई प्रभावित नपारुन् भन्नका लागि पनि यो प्रावधान राख्नु परेको उनको तर्क छ ।