हेटाैँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित कार्की खोलाले दुई दिनअघि बगाएर बेपत्ता भएका विनोद बम्जनको शव फेला परेको छ।

मकवानपुरगढी गाउँपालिका– २, तल्लो छापका २५ वर्षीय बम्जनको शव दुई दिनपछि आइतबार मकवानपुरको मनहरी गाउँपालिका– ९, ज्यामिरेस्थित राप्ती खोलाको बगरमा फेला परेको हो। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बम्जनको शव आइतबार दिउँसो राप्ती बगरमा फेला परेको हो।

उनलाई शुक्रबार दिउँसो ३ः३० बजेतिर मकवानपुरगढी– ७ सुकौरा तल्लो छापस्थित पसलबाट घर फर्कने क्रममा कार्की खोलाले बगाएको थियो। ह्युम पाइपमार्फत खोला तर्ने क्रममा आकस्मिक रूपमा बढेको खोलाले उनलाई बगाएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए।

बम्जनलाई खोलाले बगाएपछि उनको आफन्त र प्रहरीले खोजी गर्दा फेला पर्न सकेको थिएन। बम्जनको शवलाई हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ।

शव फेला परेको जानकारीपछि आफन्तहरू अस्पताल पुगेका र मृतक बम्जनकी बहिनी सम्झना बम्जनले बायाँ कान सानो भएको आधारमा शवको सनाखत गरेकी प्रवक्ता अर्यालले बताए।