हेटौँडा । मकवानपुरको मकवानपुरगढीमा चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीय त्रसित भएका छन । मकवानपुरगढी गाउँपालिका– ५ को माथिल्लो भेगस्थित सोलिथुम, नयाँगाउ, लिङ्गे डाँडा र खैरेनीमा चितुवाका कारण स्थानीय त्रसित भएका हुन ।

जङ्गली जनावरले यहाँ बुधबार चैन डाँडाका बुद्धिलाल ब्लोनको चरणको बेलामा बाख्रा खाएको छ । बिहीबार नयाँ गाउँमा घरमै चोकर पानी खाइरहेको एउटा बोका र शुक्रबार साँझ ४ बजेको समयमा मकवानपुरगढी वडा नं. ५ लिङ्गे डाँडाका कृष्ण बहादुर घलानले पालेको बाख्रा जङ्गली जनावरले खाएको स्थानीय अमर लामा मोक्तानले जानकारी दिए।

स्थानीय मोक्तानका अनुसार घरमा पालेको खसी बाख्रा जङ्गली जनावरले मार्न थालेपछि आफूहरू त्रसित भएको बताए । अब मान्छेलाई पनि आक्रमण नगर्ला भन्न सकिन्न त्यसैले गोठालो जाँदा, घरबाट बाहिर कतै जाँदा एक्ला एक्लै नहिँड्न अनुरोध समेत गरे । उनले मकवानपुरगढीमा घरपालुवा जीवजन्तु मार्न थालेपछि तत्कालै सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराए ।

मकवानपुरगढी सब डिभिजनका अधिकृत निश्चल घिमिरेले अहिले घरपालुवा जनावर मार्ने चितुवा हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन । उनले प्राविधिक टिमसँग सहकार्य, समन्वय पश्चात् स्थलगत अनुगमन गरेर मात्रै बाघ वा चितुवा के हो भन्न सकिने जानकारी दिए । २०८१ चैत अन्तिममा मकवानपुरगढी गाउँपालिका–३ र ४ नम्बर वडामा चितुवाले आतङ्क फैलाएको थियो । डिभिजन वन कार्यालयले जडान गरेको क्यामरामा मकवानपुरगढी–३ मा चितुवा भिडियो कैद भएको थियो ।