हेटौँडा । जलवायु परिवर्तन र प्राकृतिक विपत्तिबाट सुगमभन्दा दुर्गम र विपन्न महिला धेरै प्रभावित भएका छन् । प्राकृतिक स्रोतका भरमा घरपरिवार र पशुको हेरचाह गर्नुपर्ने महिलाहरू जलवायु परिवर्तनको मारमा परेका हुन् । जलवायु परिवर्तनका कारण कृषि, पशुपालन र दैनिक जिवनमा विविध समस्याको सामना गर्दै संघर्ष गरिरहेका छन्, महिलाहरु ।
मकवानपुरको मनहरी गाउँपालिका–३, डेडुखोलाकी अल्पसंख्यक चेपाङ समुदायकी पम्फा चेपाङको दैनिक जीवन संघर्षमय छ । ११ वर्षकै उमेरमा विवाह गरेकी पम्फाले सानैदेखि जीवनका कठोर चुनौती सामना गर्नुप¥यो । विवाहपछि उनका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएपछि परिवारको सम्पूर्ण जिम्मेवारी एक्लै उनकै काँधमा आयो ।
२५ वर्षको उमेरमा श्रीमान् विदेश गएपछि सम्पर्कविहीन बनेको बताउँदै पम्फा भन्छिन्, “त्यतिबेला छोरी ६ वर्षकी र छोरा १० वर्षका थिए । अरुको घरमा लुगा धुने, ज्याला मजदुरी गर्ने र खेतिपाति गरेर मैले बालबच्चा हुर्काएँ ।”
सानै उमेरदेखि आफैँ कमाउने र जोगाउने बानीले उनलाई कहिल्यै हार नमान्ने बनाएको छ । “केही गर्न सक्छु भनेर हिम्मत नगरेको भए आज म यहाँ हुने थिइनँ,” उनले पुराना दिन सम्झँदै भनिन् । अर्काको कमाइमा निर्भर नभई आफैँ श्रम गरेर अगाडि बढेको उनको भनाइ छ ।
दैनिक ज्यालादारी र माइतीतर्फको पाँच कठ्ठा जग्गामा खेती गरेर चार जनाको परिवार पाल्दै आएकी पम्फाका लागि संघर्ष जीवनको पर्याय बनेको छ । आफू पढ्न नपाए पनि छोराछोरीलाई पढाउने लक्ष्यसहित दुःख गरेको बताउँदै उनले भनिन्, “अहिले छोरी काठमाडौँमा पढ्दै छ, छोरो कतार गएको छ ।”
सुत्केरी भएको दुई महिनामै दुई तल्ला माथि बालुवा बोकेर काम गरेको अनुभव सुनाउँदै उनले भनिन्, “तीनवटा घरमा लुगा धुन जान्थेँ । छोरीलाई थुन्चेमा सुताएर भारी बोकेर हिँड्थेँ ।” सुत्केरी अवस्थामा फर्सीको कैडा र मुन्टा पानीमा पकाएर खाएको स्मरण गर्दै उनले विगतको पीडा बयान गरिन् ।
खेतीपातिमा आएको परिवर्तन पनि पम्फाले नजिकबाट भोगेकी छन् । पहिले दश कठ्ठा जमिनबाट पनि वर्षभरि खान नपुग्ने अवस्था रहे पनि अहिले पाँच कठ्ठामा भएको उत्पादनले परिवारलाई खान पुग्ने गरेको उनी बताउँछिन् । “पहिले धान मंसिरमा काटिन्थ्यो, मकै एक बाली मात्रै हुन्थ्यो,” उनले भनिन्, “अहिले हाइब्रिड बिउ आएपछि छिटो उत्पादन हुन्छ ।”
तर हाइब्रिड बिउसँगै समस्या पनि बढेको उनको अनुभव छ । “पहिले सबै स्थानीय जातको बिउ प्रयोग हुन्थ्यो, अहिले सबै हाइब्रिड भयो । उत्पादन धेरै हुन्छ तर स्वाद हुँदैन, बोटमै किरा लाग्छ,” पम्फाले भनिन् ।
पहिले विषादीरहित मल प्रयोग गरेर खेती गरिने गरेको स्मरण गर्दै उनले अहिले रासायनिक मल र विषादी बिना खेती गर्न नसकिने अवस्था आएको बताइन् । शक्तिशाली कृषक महिला समूहकी अध्यक्षसमेत रहेकी पम्फा भन्छिन्, “उम्रेदेखि खुम्रे सम्म औषधि नहाली हुँदैन ।”
खेतीका क्रममा रासायनिक मल र विषादी छर्कने काम पनि प्रायः महिलाले नै गर्नुपर्ने हुँदा स्वास्थ्यमा असर परेको उनको गुनासो छ । “विषादी छर्दा टाउको दुख्छ, ढाड र आँखा पोल्छ,” उनले भनिन् ।
त्यस्तै डेडुखोलाकी स्थानीय कृषक मिठ्ठु कार्कीको कथा पनि जलवायु परिवर्तनले महिलामाथि पारेको असरको प्रतिनिधि उदाहरण हो । सामान्यतया असार–साउनमा पर्ने नियमित वर्षा पछिल्ला केही वर्षदेखि अनिश्चित बन्दै गएपछि कृषि पेशामा संलग्न किसानहरू मारमा परेका छन् । वर्षा हुने समय परिवर्तन हुँदा खेतबारीमा लगाइएका बालीमा क्षति पुग्न थालेपछि यहाँका कृषक चिन्तित बनेका छन् ।
कार्कीले पाँच कठ्ठा क्षेत्रफलमा टमाटर खेती गरेकी थिइन् । बिउ, बिरुवा, मर्चिङ, थाङ्ग्रा, धागो र मजदुरीसहित करिब एक लाख रुपैयाँ लगानी गरिएको थियो । बिरुवा राम्रैसँग हुर्कँदै थियो र यसपटक राम्रो आम्दानी हुने आशामा उनी थिइन् । तर असोजमा परेको बेमौसमी वर्षाले उनको आशा निराशामा परिणत गरिदियो ।
“भदौँमा लगाएको बिरुवा असोजमा राम्रो हुँदै थियो । कार्तिकपछि फल पाउने आशा थियो, तर पानीले सबै मास्यो,” उनले भावुक हुँदै भनिन् । अघिल्ला वर्षमा टमाटर खेतीबाट चार लाख रुपैयाँसम्म आम्दानी गरेको स्मरण गर्दै यस वर्ष सम्पूर्ण लगानी गुमेकोमा उनले दुःख व्यक्त गरिन् ।
परिवारका सबै सदस्य मिलेर खेती गर्दै आएकी कार्कीले बेमौसमी वर्षाले सम्पूर्ण बाली नष्ट गरेको गुनासो गरिन् । “बिना मौसम परेको पानीले सबै क्षति भयो,” उनले भनिन् । धान र मकैको मात्रै बीमा हुने ठानेकी थिए तरकारी खेतीको बीमाबारे आफूलाई खासै जानकारी थिएन् । स्थानीय सरकारबाट कुनै किसिमको क्षतिपूर्ति नपाएको गुनासो पनि उनले गरिन् ।
तरकारी खेतीमा विषादी प्रयोग नगरी विकल्प नरहेको अनुभव सुनाउँदै कार्कीले यसको असर स्वास्थ्यमा देखिन थालेको बताइन् । “मेरो बुवा–आमा मभन्दा अझै तगडा हुनुहुन्छ । उहाँहरू पहिलेदेखि अर्गानिक खाना खानुहुन्छ,” उनले भनिन्, “हामीले जन्मेदेखि विषादीयुक्त खाना खान थालेपछि शरीर कमजोर हुँदै गएको छ ।”
तरकारी खेतिमा विषादी छर्दा ढाड पोल्ने, जिउ पोल्ने र घाँटी दुख्ने समस्या हुने गरेको बताउँदै उनले औषधि छर्किएको ठाउँबाट हिँड्दा समेत टाउको दुख्ने अनुभव सुनाइन् । स्वास्थ्य जोखिमका बाबजुद खेती गर्न बाध्य भएको बताउँदै उनले विषादी प्रयोग गर्दा मास्क लगाउने गरेको जानकारी दिइन् ।
त्यस्तै सानुमाया वल अरुको जग्गा भाडामा लिएर खेती गर्दै जीवनयापन गर्दै आएकी छन् । उनले तीन कठ्ठा जग्गामा लगाएको टमाटर खेती फुल खेल्ने अवस्थामा असोजमा परेको बेमौसमी वर्षाका कारण पूर्ण रूपमा नष्ट भएको छ । खेतमा पानी जमेपछि सबै टमाटर मरेको बताउँदै उनले यस वर्षको आशा निराशामा परिणत भएको सुनाइन् ।
अरुको जग्गा भाडामा लिएर खेती गर्दै आएकी वलले प्रतिकठ्ठा वार्षिक तीन हजार रुपैयाँ तिरेर खेती गर्ने गरेकी छन् । लगानी डुब्नुका साथै भाडाको रकम तिर्नुपर्ने बाध्यताले आफूलाई थप आर्थिक दबाब परेको उनको गुनासो छ ।
त्यस्तै सोही टोलकी रिमा पुरीले पाँच कठ्ठा जग्गामा तरकारी र मकै खेती गर्दै आएकी छन् । पछिल्ला वर्षहरूमा स्थानीय जातको बिउ प्रयोग हुन छाडेर सबै हाइब्रिड बिउमा निर्भर हुनुपरेको उनी बताउँछिन् । “मकैको बोटमै किरा लाग्छ । धेरै फले पनि धेरै समय राख्न सकिँदैन,” उनले भनिन् ।
शिक्षा निरन्तरता दिन नसकेको र अन्य सीपसमेत नभएकाले कृषि नै जीवनयापनको सहज माध्यम बनेको रिमाको भनाइ छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा रहेकाले परिवारका लागि आवश्यक खाद्यान्नको जोहो गर्नेदेखि खेतिपातीसम्मको सम्पूर्ण जिम्मेवारी उनले नै सम्हाल्दै आएकी छन् ।
डेडुखोलाका महिलाहरु आफ्नो टोलको समस्यालाई टोल विकास संस्था मार्फत वडा र पालिकामा लैजाने गरेका छन् । यहाँ गठन भएको श्री शान्ति टोल विकास संस्था मार्फत आफ्नो समस्या स्थानीय सरकारसम्म लैजाने गरेको पम्फाले जानकारी दिइन् ।
यहाँका महिलाहरु सरसफाइ र स्वास्थ्य सम्बन्धी विषयमा पनि सचेत छन् । टोल विकासको पहलमा पालिकाले फोहर संकलनका लागि गाडी समेत व्यवस्था गरेको छ । टोल विकास संस्था गठन भएदेखि महिलाहरु मासिक एक सय रुपैयाँ बचत गर्दै आएका छन् । टोल विकासका अध्यक्षले गतिविधिबारे नियमित जानकारी दिने र मोबाइल ग्रुपमार्फत सूचना आदान–प्रदान हुने भएकाले यहाँका महिलाहरुले टोलको गतिविधिबारे सजिलै जानकारी पाउँछन् ।
वडा र पालिकाले ल्याएको प्याज प्रवद्र्धन कार्यक्रम र अन्य कृषि सूचनाहरु पनि टोल विकास मार्फत महिलासम्म पुगेको छ । “प्याजको बिउ तीन कठ्ठामा, आलुको बिउ पाँच कठ्ठामा लगाउने तरिका सिक्यौँ । हाम्रो जमिन सानो भएकाले सबै ठाउँमा लगाउन सक्दैनौं ।”
पाडो र बाइलर खुकुरा अनुदान मार्फत पाउने विषयमा पनि जानकारी पुगेको छ । तर आर्थिक अवस्था कमजोर भएकाले धेरै महिलाले ५० प्रतिशत पालिका र ५० प्रतिशत जनसहभागितामा रकम हाल्नुपर्ने अनुदान लिन नसकेको उनी बताउँछिन् । केही महिलाहरु दैनिक जीविकोपार्जनका लागि घाँस काट्ने र दाउरा खोज्न जंगल जाने भएकाले वडा वा पालिकासम्म पुग्न र जानकारी लिन पनि नसक्ने अवस्था छ ।
२०७२ सालको भूकम्पपछि यहाँका पानीका स्रोत सुक्दै गएका छन् । अहिले टोलभरिका सबैले एउटै धाराबाट पानी पिउँदै आएका छन् । पम्फाले भनिन्, “चैत–बैशाखपछि यो धारो पनि सुक्ला कि भन्ने चिन्ता छ ।” अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो टोलमा एउटा मात्र धारामा पालैपालो पानी थाप्नुपर्ने बाध्यता छ । कहिले काँही बोत्तल ढोकामा राखेर तलतिर पानी लिन जानुपर्ने अवस्था पनि छ । डेडुखोलाका समुदायले कुवाबाट चारवटा रिङ ल्याएर पानीको व्यवस्था गरेका छन् । बर्खा लागेपछि कुवाको पानीमा भल पस्दा आकाशे पानीको भर पर्नुपर्ने अवस्था रहेको छ ।
त्यस्तै मनहरी–३ लामिटारकी मिरा प्रजाले “पहिले बस्तुको मल हाल्दा उत्पादन हुने कृषि उपजले परिवारको खानेकुरा पुग्थ्यो, तर अहिले रासायनिक मल र हाइब्रिड बिउ प्रयोग नगरे उत्पादनै हुँदैन ।” त्यस्तै, कालिमाया मोक्तानले पनि बिना विषादी उत्पादन सम्भव नभएको बताइन् । उनले भनिन्, “श्रीमान दैनिक ज्यालादारीमा जानुहुन्छ, खेतिपाती म आफैँ गर्छु । बालिमा विषादी हाल्ने काम पनि म आफैले गर्छु । औषधि हालेको दिन टाउको दुख्छ, ज्यान भारी लाग्छ । सुरक्षाका लागि माक्स र पन्जा प्रयोग गर्ने बारे मलाई जानकारी छैन ।”
माथिल्लो गाउँ नयाँ बस्तीमा रुख कटान भएपछि पानीको मुहान सुक्दै गएको र यसले खानेपानीको समस्या आउनेमा उनीहरुले चिन्ता व्यक्त गरे । मिरा प्रजाले टोल विकासको भेला र खानेपानी सम्बन्धी मिटिङबारे जानकारी नपाएको पनि बताइन् । “घरघर आइपुगेर केवल हस्ताक्षर मात्रै गराउँछन्, तर जानकारी दिइँदैन,” उनले भनिन् ।
कृषि कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण
मनहरी गाउँपालिका ३ नं. वडाध्यक्ष अनन्तप्रकाश आर्यालले आफ्नो वडा क्षेत्रमा कार्यक्रम सूचना र कार्यान्वयनमा टोल विकास संस्था तथा वडा सदस्यको सहयोगमा काम भइरहेको बताएका छन् । उनका अनुसार, वडा सदस्य भएको स्थानमा सूचना वडा सदस्यमार्फत र नभएको स्थानमा टोल विकास संस्थाबाट पालिका तथा वडा कार्यक्रमबारे जानकारी दिइन्छ ।
आर्याललका अनुसार– “वडा कार्यालयमार्फत आर्यआर्जन तथा गृहणी महिलाका लागि विविध कार्यक्रम संचालन हुँदै आएको छ । तर, प्रदेश सरकारबाट स्थानीय तहमा प्राप्त कार्यक्रम कार्यान्वयन गर्न अप्ठेरो भएको छ ।” उनले थपे, “प्रदेशले कार्यक्रम संचालन कार्यविधि बनाउँदा ५० प्रतिशत लागत प्रदेश सरकार र ५० प्रतिशत उपभोक्ताले हाल्नुपर्ने भएकाले कतिपय अवस्थामा आर्थिक कमजोरी भएका उपभोक्ताले लागत जुटाउन नसक्दा कार्यक्रममा सहभागिता कम हुने समस्या छ ।”
अघिल्लो आर्थिक वर्षमा वडा कार्यालयले तरकारी वालीमा राहत वितरण गरेको थियो । तरकारी वालिमा राहत दिँदा मुल्याङ्कन गर्ने प्राविधिक समस्या देखा परेको आर्यालले बताए । गत आवमा भेन्टा विक्री नहुँदा २५ जना किसानलाई वडा कार्यालयको ४ लाख रुपैयाँ सिलिङ बजेटबाट राहत प्रदान गरिएको थियो । वडा अध्यक्ष आर्यालले प्रदेश र स्थानीय तहबीच कार्यक्रम कार्यान्वयनमा समन्वय र उपभोक्ताको आर्थिक क्षमता अनुसार कार्यक्रम सञ्चालन गर्न थप योजना आवश्यक भएको बताएका छन् ।
यस्तै मकवानपुर महिला उत्थान समाजले समूह बनाएर यहाँका न्यून आय भएका महिलाहरुलाई सहयोग गर्दै आएको छ । स्थानीय सहजकर्ता मनिषा पुडासैनीका अनुसार, आर्थिक अवस्था कमजोर र हिंसाप्रभावित महिलालाई लक्षित गरी विभिन्न कार्यक्रममार्फत सहयोग गरिएको छ ।
उर्मिला ब्लोनलाई पाडी पालनका लागि २० हजार रुपैयाँ सहयोग गरिएको थियो । पुडासैनीले भनिन्, “दैनिक ज्यालादारी गरेर जीविका चलाउँदै आएकी उनलाई फिर्ता गर्न नपर्ने गरी अनुदानको व्यवस्था गरिएको हो ।”
त्यस्तै, पशुपालनका लागि देवकली भ्लोन र सविता प्रजालाई घुम्ती कोषमार्फत २५–२५ हजार रुपैयाँ सहयोग गरिएको छ । अर्गानिक खेती गर्नका लागि लक्ष्मी बतौँला र मिठ्ठु कार्कीलाई ५–५ हजार रुपैयाँ सहयोग गरिएको छ । मानसिक रोगी भएकी देवकी प्रजालाई उपचारका क्रममा बाटो खर्चको रूपमा पनि ५ हजार रुपैयाँ सहयोग गरिएको पुडासैनीले जानकारी दिइन् ।
त्यस्तै मनहरी–३ लामिटारमा रहेको लामिटार महिला समूहमार्फत महिलाहरुलाई आर्यआर्जनमा जोड्न कृषि र पशुपालनका कार्यक्रम सञ्चालन गरिएको छ । समूहकी अध्यक्ष सरिता तामाङका अनुसार, महिलाहरुले समूह बनाएर नियमित ५० रुपैयाँ मासिक बचत गरिरहेका छन् ।
“पाडी, बाख्रा, कुखुरा पालन र अर्गानिक खेतीका लागि महिलाहरुलाई समूह मार्फत सहयोग दिइएको छ ।” पाडी पालनका लागि अन्जना बस्नेतलाई १९ हजार, बाख्रा पालनका लागि कुमारी प्रजालाई १९ हजार रुपैयाँ अनुदान प्रदान गरिएको छ, उनले जानकारी दिइन् ।
त्यस्तै, घुम्ती कोषमार्फत सुनिता प्रजालाई खुद्रा पसल सञ्चालनको लागि २५ हजार, कुखुरा पालनका लागि सिता कुमारीलाई २५ हजार र अर्गानिक खेतीका लागि विष्णुमाया वललाई ९ हजार रुपैयाँ उपलब्ध गराइएको छ । मकवानपुर महिला उत्थान समाजले महिलाहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । बेमौसमि पानीका कारण कृषिमा क्षति पुग्दा कृषिमै निर्भर रहेका महिलाहरु बढी प्रभावित भएका छन् ।












प्रतिक्रिया दिनुहोस्