हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–९, रजैया स्थित पूर्व–पश्चिम सडकखण्डमा बिहीबार राति भएको सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् । दुर्घटनामा दुई जना मध्यम र १२ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख. ०४१५ नम्बरको चामल लोड गरिएको ट्रक र काठमाडौँबाट झापा आउँदै गरेको प्र.१–०१–००१ ख. ४७६८ नम्बरको यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
सवारी दुर्घटनामा बस चालक झापा शिवसतासी नगरपालिका–११, नहरचोक बस्ने ३५ वर्षीय खगेन्द्र काफ्ले, बसका सह चालक मोरङ हरिचामर नगरपालिका–४, सङ्गमचोक बस्ने ४५ वर्षीय धर्के धिमाल, काभ्रे चौरीदेउराली गाउँपालिका–२, मगरटोल बस्ने ७९ वर्षीय फौदाबहादुर मगर, तेह्रथुम आठराई नगरपालिका–४ बस्ने २१ वर्षीय किउमा विष्ट, मोरङ कानेपोखरी गाउँपालिका–१, भण्डारी टोल बस्ने ४२ वर्षीय निलम खड्का घाइते भएका हुन ।
त्यस्तै, दुर्घटनामा बसमा सवार झापा मेचीनगर नगरपालिका–१२, पाथीभरा चोक बस्ने ६० वर्षीय नीतिरमन गौतम, सुनसरी दुहबी नगरपालिका–३, माझीटोल बस्ने २३ वर्षीय शालिकराम खड्का, रौतहट भरतवाह नगरपालिका–६, वसन्तपट्टि बस्ने ५० वर्षीय राजपुकार शाह, सोही स्थानका ६१ वर्षीय देवी विष्ट, झापा बिर्तामोड नगरपालिका–५, देवीबस्ती बस्ने ६६ वर्षीय टुकसान सुब्बा, सोही स्थान बस्ने ६३ वर्षीय रमा थापा, झापा बुद्धशान्ति नगरपालिका–३, डाँडागाउँ बस्ने १७ वर्षीय मेजिक योङहाङ, सोही स्थान बुद्धशान्ति नगरपालिका–४, नयाँबस्ती बस्ने ४८ वर्षीय बिन्दु गौतम र देश भारत सिक्किम बस्ने वर्ष ४२ वर्षीय मम्म क्षेत्री घाइते भए ।
घाइतेहरूको खुट्टा, नाक, कान, घाँटी, आँखा, टाउको, निधारसहित शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए । घाइतेहरूको हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
दुर्घटनामा संलग्न ट्रकलाई घटनास्थलबाट सडक छेउमा सारिएको प्रहरीले जनाएको छ । ट्रक चालक हेटौँडा उपमहानगरपालिका–२, वनस्खण्डी बस्ने २३ वर्षीय समुद्रप्रसाद पौडेल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्