हेटाैँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा हायस गाडी दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। प्रहरीका अनुसार एकजनाको अवस्था गम्भीर रहेको छ।
शनिबार काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ७८७६ नम्बरको हायस गाडी ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। दुर्घटनामा चालकसहित १० जना सवार रहेका थिए । तीमध्ये तीनजना घाइते भएका हुन्।
घाइतेमध्ये उदयपुर त्रियुगा नगरपालिका–११ गाईघाटका करिब ८६ वर्षीय गोरे राईको टाउकोमा गम्भीर चोट लागेको छ। ब्रेक फेल भएपछि गाडीबाट हाम फाल्दा सोही गाडीको पछाडिको टायरले कुल्चिँदा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
यस्तै, सोही स्थानकी करिब ६२ वर्षीया हर्कमाया राईको निधार र दाहिने हातमा चोट लागेको छ भने उदयपुर त्रियुगा नगरपालिका–१० का करिब अन्दाजी ४० वर्षीय शम्भु कटुवालको टाउकोमा मध्यम चोट लागेको छ। घाइते तीनैजनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ। अन्य सवार व्यक्तिहरू भने सामान्य घाइते भई आफैँ उपचारका लागि गएको प्रहरीले जनाएको छ।
दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक प्रेम तामाङको कमान्डमा खटिएको टोलीले दुर्घटनामा परेकाहरूको उद्धार गरेको थियो। हायसका चालक भने हाल सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्