हेटाैँडा । मकवानपुरमा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । जिल्लाको बागमती गाउँपालिका– १, भैँसेस्थित बागमती खोलाको बगरमा माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा स्थानीय ३२ वर्षीय अजय पहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही घटनामा ३७ वर्षीय उज्वल थोकर घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार साँझ करिब ६:३० बजे हावाहुरी र वर्षासहित परेको चट्याङ उनीहरूलाई लागेको हो । दुवैजना माछा मारेर घर फर्किने क्रममा हिँडिरहेका वेला अचानक चट्याङ परेको प्रहरीको भनाइ छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका पहरीलाई झुरझुरेस्थित सान्भी पोलिक्लिनिकमा प्राथमिक उपचारपछि हेटौँडा ल्याइएको थियो । उपचारकै क्रममा राति ११:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्