हेटौँडा । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–१० स्थित शान्ति सामुदायिक वनका प्रतिनिधिहरूले मकवानपुरको हेटौँडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेका छन् ।
सर्वमान्य गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार प्राप्त रानी सामुदायिक वनको व्यवस्थापन, संरक्षण र आयआर्जनका गतिविधिबारे अध्ययन गर्न शान्ति सामुदायिक वनको टोली यहाँ आएको हो ।
अवलोकन टोलीलाई रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, कोषाध्यक्ष गोमा लामिछाने, सदस्य केदारप्रसाद अधिकारी तथा कार्यालय सचिव भीमसेन पौडेल लगायतले सहजीकरण गरेका थिए ।
अवलोकनका क्रममा सहभागीहरूलाई वन संरक्षण, दिगो उपयोग, संस्थागत विकास, आयआर्जन, सालक संरक्षण, कार्यालय व्यवस्थापन, पर्यापर्यटन प्रवर्द्धन तथा सामाजिक र शैक्षिक क्षेत्रमा वनले पुर्याएको योगदानबारे जानकारी गराइएको थियो ।
शान्ति सामुदायिक वनका उपाध्यक्ष दिलबहादुर लोहारको संयोजकत्वमा आएको भ्रमण टोलीमा जनप्रतिनिधि, कार्यसमिति सदस्य तथा उपभोक्ता गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।
रानी सामुदायिक वनले हालसम्म ५८० वटा अध्ययन तथा अवलोकन टोलीलाई स्वागत गरिसकेको जनाएको छ ।


भीमसेन पौडेल 









प्रतिक्रिया दिनुहोस्