Gemini_Generated_Image
Gemini_Generated_Image

हेटाैँडा । मकवानपुरको सिस्नेरी र कोगटे खोलाको पानी काठमाडौं उपत्यका लैजाने योजना भइरहेको छ । ५ वर्षदेखि सिस्नेरी र कोगटे खोलाको पानी काठमाडौं लैजान भइरहेको अध्ययनपश्चात विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि तयार गरिएको हो ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने भीमफेदी गाउँपालिका–८ र सिस्नेरी गाउँपालिका–३ को दोभान पैयुदमारबाट लगेको पानी ललितपुरको भैंसेपाटीस्थित ट्यांकीमा खसाल्ने योजना रहेको छ । भैंसेपाटीमा संकलन भएको पानी काठमाडौंको विभिन्न भागमा वितरण गर्ने योजना बनाइएको छ । भीमफेदीको कोगटे खोला र ईन्द्रसरोवर गाउँपालिकाको सिस्नेरी खोलाको दोभान पैयुदमारमा ५० मिटर लम्बाई र ६५ मिटर उचाइको ड्याममा पानी संकलन गरी पम्पिङ गरेर पाइपलाइनमार्फत उपत्यकामा लैजान लागिएको हो ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. डोलप्रसाद चापागाईले उपत्यकामा देखिएको पानीको समस्या समाधानका लागि पैयुदमारको दोभानबाट पानी लैजान लागेको बताए । पैयुदमारमा बाँध बनाएर संकलन गरिएको पानी पम्पिङ गरेर सिस्नेरी गाउँपालिका-३ को दाबराङ डाँडामा पानी पुर्‍याउने र त्यहाँबाट विना पम्पिङ ग्राभिटीफ्लो भएर पानी ९ किलोमिटर दुरीमा रहेको ललितपुरको मख्खुबेंसी पुग्ने छ ।

मख्खुबेंसीमा पानीको सुद्धीकरणका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ निर्माण गरिने निर्देशक चापागाईले बताए । उक्त ट्रिटमेन्ट प्लान्टबाट डबल पम्पिङ गरेर भैंसेपाटीमा रहेको ट्यांकीमा खसालिने योजना रहेको उनले बताए । पैयुदमारबाट भंैसेपाटी २० किलोमिटरको दुरीमा पर्छ । ‘२० किलोमिटर पाइपलाइन गरेर काठमाडौं उपत्यकामा पानी वितरण गरिनेछ,’ उनले भने ।

करिब ३३ अर्ब लागतमा निर्माण हुने यो आयोजनाबाट वर्षायाममा दैनिक १४ करोड लिटर र सुक्खायाममा ८ करोड लिटर पानी भैंसेपाटीको ट्यांकीमा खसालिनेछ । यो आयोजना अन्तराष्ट्रिय दातृ संस्था, नेपाल सरकार र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिने कार्यकारी निर्देशक चापागाईले बताए । आयोजनाको निर्माणको सुरुवात २ वर्षभित्र गर्ने लक्ष्य रहेको उनले बताए ।

काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) भन्दा झण्डै एक सय मिटरमाथि पैयुदमारमा ड्याम निर्माण गरिने स्थल भीमफेदी गाउँपालिकामा पर्छ । सिस्नेरी र कोगटे खोलाको संगम पैयुदोभान हो । दुवै खोलाको पानी मिसिएर बगेपछि करिब तीन सय मिटर तल रहेको बागमती खोलामा मिसिन्छ । भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले काठमाडौंको खानेपानी समस्या समाधानका लागि यहाँको पानी लैजान पालिकाले सहमति दिएर समन्वय पनि गर्दै आएको बताए ।

यो आयोजनाले प्रभावित क्षेत्रमा आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक रुपमा पार्ने प्रभावबारे छिट्टै सार्वजनिक सुनुवाई गर्न लागेको अध्यक्ष लामाले बताए । दुवै खोलाको पानी अहिले कुनै प्रयोगमा नरहेको अध्यक्ष लामाले बताए ।