हेटाैँडा । श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी बस्तीका नागरिकलाई घर भत्काएर बेघर बनाउने सरकारको कार्य स्वीकार्य नहुने बताएका छन् । हेटौँडा–११ स्थित सिमलटार सुकुम्बासी बस्तीमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले संविधानले प्रत्येक नागरिकलाई बाँच्न र आवासको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै राज्यले बल प्रयोग गरेर नागरिकलाई त्रसित बनाउने काम गर्न नहुने बताए ।

‘सबैलाई बाँच्न पाउने अधिकार छ । घर बनाएर बस्ने अधिकार संविधानले दिएको मौलिक हक हो,’ उनले भने,‘राज्यले एकाएक आएर आतंक फैलाउने हिसाबले घर भत्काउनु हुँदैन भन्ने पक्षमा हामी छौँ ।’ उनले सुकुम्बासीहरूको समस्यालाई संसद् र सडक दुवै तहबाट उठाउने प्रतिबद्धता जनाए । प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठकमै आफूले सुकुम्बासी समस्या सम्बन्धी एजेन्डा टेबल गरिसकेको उल्लेख गर्दै सरकारका कामको मूल्यांकन र खबरदारी गरिरहेको बताए ।

‘अरू कोही रहला नरहला, म चाहिँ तपाईंहरूको पक्षमा रहन्छु,’उनले भने,‘हामी सदनबाट पनि आवाज उठाउँछौँ, सडकबाट पनि उठाउँछौँ । नेपाली जनताले बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै एकजुट हुनुपर्छ ।’ सरकारले जनतालाई घर भत्काएर बेघर बनाउने कदमलाई ‘निरंकुश शैली’को संज्ञा दिँदै उनले मेचीदेखि महाकालीसम्मका नागरिक एकजुट भएर त्यसको विरोध गर्नुपर्ने धारणा राखे ।

उनले सिमलटारवासीको दुःखमा आफू सधैँ साथमा रहने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि बस्तीमा आएर छलफल र सहकार्य जारी राख्ने बताए । कार्यक्रममा स्थानीय बासिन्दाले साम्पाङलाई स्वागत गर्दै सुकुम्बासी बस्तीमाथि भइरहेको दबाब र त्रासबारे जानकारी गराएका थिए। पछिल्लो समय सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियानसँगै हेटौँडा–११ को सिमलटार बस्ती पनि चर्चामा रहेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अतिक्रमण हटाउने बताइरहदा सिमलटारका स्थानीय त्रसित छन् । नयाँ पत्रिकाबाट