हेटौँडा। दिगो वन व्यवस्थापन कार्ययोजना लागू भएका विभिन्न सामुदायिक वन उपभोक्ता समूहमा देखिएका समस्या तथा तिनको समाधानका उपायबारे हेटौँडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका वरिष्ठ वन अधिकृत विशाल भट्टराई र वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, गोदावरी ललितपुरकी वन अधिकृत राधिका शर्माले सहजीकरण गरेका थिए ।

अन्तरक्रियामा बागमती प्रदेशको वन ऐन तथा नियमावली, दिगो वन व्यवस्थापनका फाइदा, वन संरक्षण तथा व्यवस्थापन, वनजन्य स्रोतको सदुपयोग, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा समाधानका प्रयासलगायत विषयमा जानकारी गराइएको थियो ।

सहभागीहरूले आर्थिक अभावका कारण दिगो वन व्यवस्थापन कार्ययोजनाअनुसारका गतिविधि सञ्चालन गर्न कठिनाइ भएको, उपभोक्ताको सक्रियता घट्दै गएको, प्राविधिक ज्ञानको कमी रहेको, भौगोलिक विकटताका कारण कार्यान्वयनमा समस्या भएको तथा वन पैदावारको चोरी निकासी नियन्त्रण गर्न चुनौती रहेको बताएका थिए ।

कार्यक्रममा विभिन्न सब–डिभिजन वन कार्यालयका प्रमुख तथा कर्मचारी, सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

भीमसेन पौडेल
थप जानकारी