हेटाैँडा । निरन्तरको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि हेटौँडा र काठमाडौं जोड्ने दुई प्रमुख सडकखण्डमा सवारी आवागमन रोकिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै कान्ति लोकपथ र हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा अस्थायी रूपमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको हो।
जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध हुने र थप बाढीपहिरोको उच्च जोखिम रहेकाले सवारी आवागमनमा रोक लगाइएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार यात्रुको ज्यानको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरणका लागि उक्त निर्णय गरिएको हो।
प्रशासनका अनुसार हेटौँडा–ठिंगन–बागमती–ललितपुर (कान्ति लोकपथ) अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडक प्रयोग गर्ने सवारीसाधनलाई मकवानपुरको चौघडा क्षेत्रमा होल्ड गरिने व्यवस्था मिलाइएको छ। यो निर्णय असार २९ गते साँझ ५ बजेदेखि लागू गरिएको हो।
त्यसैगरी, हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडकखण्डमा सञ्चालन हुने सवारीसाधनलाई हेटौँडाको चौकीटोलमा रोकिनेछ। यस सडकमा सोमबार साँझ ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले यातायात व्यवसायी, चालक तथा यात्रुहरूलाई तोकिएको स्थानभन्दा अगाडि सवारीसाधन नलैजान र सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्।
यसैबिच, मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुरगढीमा ११९.४ मिलिमिटर वर्षा भएको छ, जुन देशकै सबैभन्दा धेरै वर्षा मापन भएको क्षेत्र हो। लगातारको वर्षाले खोलानाला बढ्नुका साथै पहिरोको जोखिम उच्च बनेको छ।
यद्यपि, जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार समाचार तयार पार्दासम्म जिल्लामा वर्षाका कारण कुनै मानवीय क्षति भने भएको छैन। प्रशासनले मौसमको अवस्था निरन्तर निगरानीमा राखिएको जनाएको छ भने आवश्यक परे थप सडकमा पनि आवागमन नियन्त्रण गर्न सकिने जनाएको छ।












प्रतिक्रिया दिनुहोस्