हेटाैँडा । बागमती प्रदेश सरकारले नागरिकका गुनासा, उजुरी तथा सुझावको छिटो सुनुवाइ र समाधान गर्ने उद्देश्यसहित ‘हेलो सिएम’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

प्रदेश सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने लक्ष्यका साथ बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको ‘हेलो सिएम डेस्क’को शुभारम्भ गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले अब प्रदेशवासीले दैनिक जीवनमा भोगिरहेका समस्या, गुनासा तथा सुझाव सिधै मुख्यमन्त्री कार्यालयसम्म पुग्ने र ती विषयमा प्रभावकारी सुनुवाइ तथा कार्यान्वयन सुनिश्चित गरिने बताए। जनताको आवाजलाई सरकारसम्म सहज रूपमा पुर्‍याई सेवा प्रवाहलाई परिणाममुखी बनाउने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको उनको भनाइ थियो।

‘सरकार जनताबाट टाढा होइन, जनताकै बीचमा हुनुपर्छ। नागरिकले उठाएका हरेक जायज गुनासा र समस्याको जिम्मेवारीपूर्वक सुनुवाइ गर्दै समाधानका लागि सम्बन्धित निकायलाई जवाफदेही बनाइनेछ,’ उनले भने।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार ‘हेलो सिएम’मा प्राप्त हुने उजुरी र गुनासाहरूको प्रकृतिअनुसार सम्बन्धित मन्त्रालय, विभाग वा निकायमा तत्काल पठाइनेछ। उजुरीको समाधान प्रक्रिया नियमित रूपमा अनुगमन गरिनेछ भने आवश्यक समन्वय र सहजीकरण पनि मुख्यमन्त्री कार्यालयबाटै गरिने व्यवस्था मिलाइएको छ।

मुख्यमन्त्री कार्यालयसँग प्रत्यक्ष सम्बन्धित विषयहरू भने सोही कार्यालयबाट सिधै सम्बोधन गरिने बताइएको छ। मुख्यमन्त्री बानियाँले जनताका समस्यालाई उच्च प्राथमिकतामा राखेर समयमै समाधान गर्न सम्बन्धित मन्त्रालय, कार्यालय र कर्मचारीलाई निर्देशनसमेत दिएका छन्।

मुख्यमन्त्री बानियाँले ‘हेलो सिएम’लाई जनगुनासो व्यवस्थापनको प्रभावकारी संयन्त्रका रूपमा विकास गर्दै सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार  ‘हेलो सिएम’ सेवामार्फत नागरिक र सरकारबीचको दूरी घट्दै सार्वजनिक सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।